काठमाडौँ : सर्वोच्च अदालतको अन्तरीम आदेशपछि बन्द रहेको बाजेको सेकुवा सञ्चालनमा आउने भएको छ । सरकारले सुनतस्करी प्रकरणमा बाजेको सेकुवाका मालिक चेतन भण्डारीको पनि संलग्नता रहेको दावी गर्दै सबै शाखामा सिलबन्दी गरेको थियो ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बन्द गरेका सबै शाखाहरु सञ्चालनमा आउने भएका हुन् ।
सिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीको पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सरकारले शङ्काको भरमा बाजेको सेकुवा शाखामा तालाबन्दी हुँदा सो निर्णय खारेज गर्न आदेशमा माग गरिएको थियो।
आदेशमा नेपालको संविधानमै पेशा तथा व्यवसाय गर्न पाउने मौलिक हकको व्यवस्था गरिएको हुँदा सरकारले मौलिक हकविरुद्ध रोक लगाउन नमिल्ने देखिएको र बाजेको सेकुवा सिलबन्दी गर्ने निर्णयका आधार र कारणसमेत नदेखिएको उल्लेख छ।
सरकारले सुन तस्कर गरेको पैसा लगानी गरेर बाजेको सेकुवा सञ्चालन गरेको शङ्कामा सिलबन्दी गर्ने निर्णय गरेको थियो। बाजेको सेकुवामा भण्डारीले चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्कर गरेर लगानी गरेको आरोप लागेको थियो।