काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ । दुर्इ दिन चल्ने शिखर सम्मेलन काठमाडौंको सोल्टी होटलमा हुने भएको छ ।
बिमस्टेक सदस्य राष्टका सबै सरकार प्रमुख काठमाडौं पुगिसकेका छन् । नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । बिमस्टेकको स्थापना सन् १९९७ को जुन ६ मा भएको हो । सम्मेलनको अन्तिम तयारी स्वरुप बुधबार भएको विदेश मन्त्री स्तरीय बैठकले अन्तर्राष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
बिमस्टेकको १६ औँ मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबिच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको हो ।
मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन् ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबिच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए । बैठकले काठमाडौँ घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले बिहीबार बिमस्टेकको चौथो शिखर सम्मेलन उद्घाटन गर्नेछन् । शिखर सम्मेलन शुक्रबार काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिनेछ ।