काठमाडौँ : बुधबारदेखि दुर्इ दिन चल्ने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा एउटा मात्र समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
मंगलबार बसेको बिमस्टेक सदस्य राष्ट्रका विदेश सचिवको बैठकले विमस्टेकका एजेण्डा तय गरेको हो । बैठकले सम्मेलनले अनुमोदन गर्ने विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) तयार भएको छ ।
सम्मेलनक्रममा बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्रमा सातै देशका विदेशमन्त्रीले हस्ताक्षर गर्ने जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।
सचिवस्तरीय बैठकले बिमस्टेकको बडापत्र तयार पार्ने निर्णयसमेत गरेको छ । स्थापनाको दुई दशक बितिसक्दा पनि कानुनी दस्ताबेजबिनै चलिरहेको बिमस्टेकको बडापत्र बनाउन थप छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।