काठमाडौं । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाबारे चिनियाँ कम्पनी थ्री गर्जेजसँग सरकारले आज र बुधबार वार्ता गर्दैछ । त्यसका लागि चिनियाँ कम्पनी थ्री गर्जेजसम्बद्ध सहायक कम्पनी सीडब्लुई इन्भेष्टमेन्टको टोली हिजो काठमाण्डौ आएको छ ।
आयोजनाका सम्बन्धमा राखिएका ‘रिजर्भेसन’बारे लगानी बोर्डले वार्ताका लागि चिनियाँ कम्पनीको टोलीलाई काठमाडौं बोलाएको हो । सरकारले थ्री गर्जेजको यथोचित माग भए सम्बोधन गर्दै एकपटक बनाउन मौका दिने गरी वार्ता गर्न लागेको छ ।
वार्तामा आयोजनाको क्षमता घटाएर ५५० देखि ६२० मेगावाटमा निर्माण गर्न सरकारले कम्पनीलाई प्रस्ताव गर्नेछ । १० वर्षसम्म डलरमा पीपीए गर्न सहमति दिँदै सरकारले चिनियाँ टोलीलाई आयोजना निर्माणबाट पछि नहट्न आग्रह गर्नेछ ।
आयोजनालाई ६ सय मेगावाटमा झार्न थ्री गर्जेजले यसअघि नै माग गरेको थियो । तर, सरकारले स्वीकारेको थिएन ।