Tuesday, July 27, 2021
घरसमाचारकांग्रेस महासमिति भेला  मंसिरमा

कांग्रेस महासमिति भेला  मंसिरमा

काठमाण्डौ । कांग्रेसले मंसिर पहिलोसाता महासमिति भेला गर्ने भएको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमिति भेला आयोजना गर्ने निर्णय गरेको हो। भर्खरै विद्यान मस्यौदा समिति बन्नु एवं असोजदेखि महत्वपूर्ण चाडवाड पर्ने भएकाले मंसिर पहिलो साता महासमिति भेला गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको प्रवक्ता शर्माले जानकारी दिए । महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिएको छ ।

महासमिति बैठकमा साङ्गठनिक प्रतिवेदन महामन्त्री डा शशांक कोइरालाले र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्नुहुनेछ । त्यस्तै पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठन गरिएको छ ।

विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिको हेटौँडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्तावअनुसार जिल्ला पार्टी सभापति मध्येबाट स्थायी आमन्त्रितका रुपमा दुई जना सदस्य थप गर्ने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले काठमाडौँ जिल्ला कार्यसमिति काङ्ग्रेसका सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । बैठकले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको गहन छानबिन गरी अपराधीमाथि तत्काल कारबाहीको माग गरेको छ ।

बैठकले उक्त घटनाका सम्बन्धमा कञ्चनपुरमा भएको विरोधसभामा प्रहरीको गोलीबाट निधन हुनुभएका निर्दोष बालक सन्नी खुनाको परिवारलाई राहत तथा क्षतिपूर्तिको माग गरेको छ । बैठकले सबै घाइतेको सम्पूर्ण उपचारका लागि सरकारलाई आग्रह गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकले कञ्चनपुर घटनाको यथार्थबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय दीलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायर रहुन भएको टोली यही भदौ १० गते कञ्चनपुर पुग्ने गरी पठाउने निर्णय गरेको छ ।

काङ्ग्रेसले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनका केही प्रावधानले खास गरी प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पु¥याउन सक्ने निष्कर्ष निकाल्दै संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले सङ्घीय, प्रदेश तथा स्थानीय तहमा हचुवा ढङ्गले कर बढाइएको घटनाले सर्वसाधारणको जनजीवन आक्रान्त हुनुका साथै लगानीकर्ता तथा उद्यमशील वर्गलाई यसले निरुत्साहित गर्ने ठहर गरेको छ । साथै पार्टीले तीनै तहका सरकारलाई करको दर बढाउने एवं दोहोरो–तेहोरो करमार्फत जनतालाई थप आर्थिक बोझ सिर्जना नगर्न सचेत गराएको छ ।

समयमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन नगर्नुको परिणाममा पनि करका विषयमा जटिलता उत्पन्न भएको ठहर काङ्ग्रेसले गरेको छ । मित्रराष्ट्र पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका रुपमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित हुनुभएकामा काङ्ग्रेस बैठकले बधाई ज्ञापन गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक यही २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने प्रवक्ता शर्माले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments