गोरखा । गण्डकी प्रदेश सरकारले आज गोरखा सदरमुकाममा कृषि र पशु सेवा कार्यालय पुनःसञ्चालनमा ल्याएको छ। यसअघि केन्द्र सरकारले खारेज गरेका जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयको नाम परिवर्तन गरी प्रदेश सरकारले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा ल्याएको हो।
दुबै कार्यालयको गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे। बरिष्ठ कृषि विकास अधिकृतले कृषि केन्द्रको नेतृत्व गर्ने र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बरिष्ठ पशु सेवा चिकित्सक रहने जनाईएको छ । यसअघि लमजुङ र स्याङ्जामा मन्त्रालय मातहतका केन्द्र खोलेको मन्त्री थापाले बताए।
गण्डकी प्रदेशका ११ जिल्लामा कृषि र पशु सेवा केन्द्र खोलिने उनले बताए।गण्डकी प्रदेशले सबै जिल्लामा विभिन्न मन्त्रालय मातहत कार्यालय खोल्ने निर्णय गरिसकेको छ। १सय २ कार्यालय खोल्ने प्रदेश मन्त्रिपरिषदको निर्णय छ। कृषि मन्त्रालय अन्तर्गत कार्यालयहरू खुल्न थाले पनि भौतिक पूर्वाधार विकास मातहत २९ वटा कार्यालय खोल्ने निर्णय सरकारले कार्यान्वयन गर्न सकेको छैन।