यात्रा बिमा सेवा प्रदान गर्ने कम्पनीहरूको एक अन्तर्राष्ट्रिय सञ्जालले नेपाल सरकारले आरोपित ठगीमा संलग्नहरूविरुद्ध कडा कारबाही नगरे आगामी महिनादेखि नेपाल भ्रमणमा जाने पर्यटकलाई बिमा सेवा उपलब्ध नगराउने चेतावनी दिएको छ।
नेपालका अधिकारीहरूले भने ठगीमा संलग्नहरूलाई कारबाही गर्न थालिसकेको र भविष्यमा यस प्रकारका ठगी रोक्नका लागि एउटा कार्यविधि बनाइएको बताएका छन्।
ब्रिटेनस्थित उपचारका निम्ति उद्धार गराउने कम्पनी ट्राभलर असिस्टका प्रमुख जनाथन ब्याङ्क्रफ्टले बीबीसीसँग कुरा गर्दै उनीहरूका सामु आइपुगेका बिमा भुक्तानीसम्बन्धी विषयमध्ये झण्डै चालिस प्रतिशतमा ठगी भएको हुन सक्ने बताए।
बिमा कम्पनीहरूले नेपाल सरकारले त्यस्ता ठगीमा संलग्न कम्पनीहरूको पहिचान र कारबाहीका लागि थप काम गर्न भनेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन सचिव कृष्णप्रसाद देवकोटाले सरकारले यस विषयमा अनुसन्धान गर्न थालेलगत्तै केही परिवर्तन देखिएको बताए।
उनले भने, “प्रतिवेदन आएपछि दोषीहरूलाई कारबाही गर्नका लागि मन्त्रीहरूको तहमा कुराकानी भयो र कारबाही प्रक्रिया शुरु गरियो। पैसा कमाउने उद्देश्यले ठगी गर्नेहरूलाई कारबाही भएको छ भन्ने विज्ञप्ती ननिकालेको मात्र हो। यस किसिमको गलत काममा संलग्न भएकाहरूले महसुस गर्ने गरी कारबाही भएको छ।”
पथप्रदर्शकदेखि लिएर उद्धारका लागि प्रयोग गरिने हेलिकप्टर, पुर्याउने अस्पताल र उद्धार एजेन्सीसम्ममा पैसाको मिलेमतो हुने गरेको बताइन्छ।
हिमाली भेगमा बिरामी हुँदा हेलिकोप्टरबाट उद्धार गर्नुको विकल्प नभएको फाइदा उठाउँदै महँगो मानिने सो प्रक्रियालाई केहीले पैसा कमाउने बाटो बनाएको देखिन्छ।
बिरामी पर्यटकले उपचारमा खर्च गरेको रकम विदेशी बिमा कम्पनीसँग दाबी गर्ने भएकाले यस्तो प्रवृत्तिले नेपालको समस्त पर्यटन उद्योगलाई नै बदनाम गराएको पर्वतारोहण विषयका एक विज्ञ आङ्छिरिङ शेर्पाले बताए।
विदेशी पर्वतारोहीहरूले बिमालाई प्राथमिकता दिने गरेको र बिमा नहुने ठाउँमा जान उनीहरू नरुचाउने बताए। विदेशी बिमा सेवा प्रदान गर्ने कम्पनीहरूले दिएको चेतावनी कार्यान्वयन भए नेपालको पर्वतारोहण क्षेत्रलाई ठूलो नोक्सान हुने शेर्पाको भनाइ छ।
बीबीसी नेपाली सेवाबाट