काठमाडौं : हिन्दु धर्मको सर्वोच्च पद शंकराचार्य बनेको भनिएकी हेमानन्द गिरीको शुक्रवार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा हुने पदस्थापन एवम् छत्री, ताम्रपत्र र छडी ग्रहणको कार्यक्रम विवादमा परेको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले गिरीको पदस्थापनका लागि शुक्रबार हुने कार्यक्रममा आफ्नो संलग्नता नरहेको जनाएको छ । समितिले विज्ञप्ति निकाल्दै भनेको छ, ‘यो मन्दिर क्षेत्र पवित्र धार्मिक स्थल भएकाले कुनै पनि औपचारिक कार्यक्रम समितिको अनुमति विना नगर्न आग्रह गर्दछौं ।’
हेमानन्द गिरीजी महाराज पदस्थापन मूल समारोह आयोजक समितिले भाद्र ८ गते पदस्थापन कार्यक्रम गर्ने भन्दै विकास समितिलार्इ पत्र पठाएको थियो । यसअघि पशुपतिमा पनि उनको कार्यक्रम रोकिएको थियो ।
आफूलार्इ शंकराचार्य घोषणा गर्दै आएकी गिरी पछिल्लो समय निकै विवादित बनेकी छिन् । काशी विद्धत परिषद्ले गिरीको शंकराचार्य पदलार्इ अवैध ठहर गरेपछि धार्मिक क्षेत्रमा तरङ्ग आएको छ । उनी १२ सय वर्षको इतिहासमा शंकराचार्य पदका लागि दाबी गर्ने पहिलो महिला हुन् ।
भारतीय साधुहरुको संगठन भारत धर्म महामण्डल र काशी विद्धत परिषद्ले हेमानन्दलाई छनोट गरेको समाचार आएसँगै पहिलो नेपाली महिला शंकराचार्य बनेको खुसी तरङ्गित थियो । तर, गतसाता काशी विद्धत परिषद् बनारसको बक्तव्य सार्वजनिक भएपछि उनी पशुपति मठमा शंकराचार्यका रुपमा रहेकी उनी वास्तविक शंकराचार्य नभएको ठहर भएको हो ।
‘पशुपतिको मठमा शंकराचार्यका रुपमा सुश्री हेमानन्द गिरीलाई स्थापित गरिएको सन्दर्भमा परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ’, परिषद्को निर्णयमा छ, ‘आदि शंकराचार्यले भारतका चार दिशामा चार मठको विधिवत स्थापना गरेको र ती मठमा विधिवत रुपमा ‘अभिपिक्त वीतराग सन्यासी’ लाई मात्र शंकराचार्य पद मिल्ने हुने स्पष्ट छ ।’
ती चार मठबाहेक कहीँ र कोही शंकराचार्य नहुने भएकाले नेपालमा नियुक्त भएकी भनिएकी हेमानन्द गिरी शंकराचार्य नभएको भन्दै परिषद्ले वक्तव्य जारी गरेको हो ।
वक्तव्यमा भारतको चार दिशा (काँची, द्धारका, पुरी र बद्री मठ) बाहेक अन्य कुनै पनि मठमा ‘अभिषिक्त’ सन्यासीलाई शंकाराचार्य भन्न नमिल्ने उल्लेख छ । त्यसैगरी शंकाराचार्य छनोट गर्न स्पष्ट योग्यता र प्रक्रिया निर्दिष्ट गरिएको पनि जनाइएको छ ।
वक्तव्यमा परिषदका अध्यक्ष प्राध्यापक रामयव शुक्ल, वरिष्ठ उपाध्यक्ष प्राध्यापक वशिष्ठ त्रिपाठी र महामन्त्री प्राध्यापक शिवजी उपाध्यायको हस्ताक्षर छ । हिन्दु धर्मलाई सिंगो देशमा फैलाउन आदि शंकराचार्यले भारतका चार कुनामा शंकराचार्य मठ स्थापना गरेका थिए । उनले इसापूर्वको आठौं शताब्दीमा स्थापना गरिएका ती मठको नेतृत्व एटटै शंकराचार्यले नेतृत्व गरिरहेका छन् ।
नेपालकी हेमानन्द गिरीले आफू बद्री मठको शंकराचार्य भएको दाबी गरेकी थिइन् । साथै उनले उक्त हैसियत हासिल गर्ने पहिलो महिला भएको पनि दाबी गर्दैै आएकी थिइन् ।
उनी शंकराचार्य भएको घोषणासँगै सञ्चारमाध्यममा भारतको उत्तराखण्डस्थित शंकराचार्य ज्योतिर्मठ बद्रीनाथ आश्रमको नेतृत्व गर्ने खबर आएको थियो । नागा अघोर परम्पराबाट दीक्षित झापा गौरीगञ्जस्थित वैदिक सूर्य शिवालय मठकी प्रमुख उनले उज्ज्यन महाकुम्भ मेलाबाट विश्वका दुई सय ओजस्वी महात्माबीचका प्रतिस्पर्धीलाई उछिनेर शंकराचार्य भएको समाचार आएको थियो ।
शंकराचार्य हुन दण्डी साधु हुनुपर्ने बताउँदै नेपाल सन्त समाजका उपाध्यक्ष स्वामी रमणानन्द गिरीले लेखेका छन्, ‘जोकसैले म शंकराचार्य हुँ भनी दाबी गर्ने र सन्त समाजसँगको आपसी परामर्शबिनै प्रचारबाजी गरेर हिँड्दा समस्या हुन्छ ।’ उनका अनुसार भारतको कुनै एक संस्था वा समूहले नेपालका लागि नयाँ पीठ र शंकराचार्यको व्यवस्था गर्नु झनै उपहासयोग्य र लज्जास्पद कुरा हो ।
हेमानन्दले भने मातृशक्तिको उजागर भएको बेला आफूलाई शंकराचार्य बन्ने अवसर मिलेको कुरा सार्वजनिक कार्यक्रममा बताएकी थिइन् । ‘नेपालमा पहिलो महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्याधीश भएको बेलामा मलाई शंकराचार्यमा छनोट गरिएको छ’, उनले भनेकी थिइन्, ‘विश्वकै पवित्र मुलुक नेपालमा सगरमाथाकी छोरी पहिलो महिला शंकराचार्य हुनु सबैको लागि गर्वको कुरा हो ।’