बाँके । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीमा गुटबन्दी अन्त्य नभएमा यसको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन् । नेपाल प्रेस यूनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले अब पनि काङ्ग्रेस गुटगत आधारमा संचालन भएमा मुलुक नै धरासायी हुने बताए ।
काङ्ग्रेसको एकता बिना स्थिर राजनीति नहुने भन्दै महामन्त्री कोइरालाले लोकतन्त्र पनि खतरामा पर्ने चेतावनी दिए ।आफू कांग्रेसलाई एकमहिनामा एकताका साथ अघि बढाउने उद्देश्य लिएर अभियानमा लागेको भन्दै उनले पार्टीको महामन्त्रीले सभापतिको विरोध गर्दै हिँड्न नसक्नेमा जोड दिए । उनले कोइराला परिवारका तीन नेता शेखर, सुजाता र आफू जहिले पनि एकठाउँमा उभिने बताए ।
उनले मूल्यवृद्धिले आम नागरिकलाई समस्यामा पारेको समयमा अनावश्यक कर थोपर्न उचित नभएको दाबी गरे । छिटोभन्दा छिटो महाधिवेशन बैठक बस्ने विषयमा आगामी केन्द्रीय समिति बैठकमा छलफल हुने उनको भनाई छ ।