महोत्तरी । इद मनाउने क्रममा महोत्तरीको लोहारपट्टिमा झडप हुँदा १० जना घाइते भएका छन् ।आज बिहान लोहारपट्टि नगरपालिका वडा नम्बर ३ मा पर्ने मदरसामा नवाज पढ्नको लागि जम्मा भएको समयमा भएको झडपमा परि १० जना घाइते भएका हुन् ।
झपडमा परिणत हुँदा नवाज पढन गएका ४ महिला, ५ पुरुष र १ जना वालिका गम्भीर घाइते भएका छन । यसभन्दा अगाडि मंगलबार त्यो मदरसामा मौलवी (धर्मगुरु) राख्ने विषयमा स्थानीय बीचमा सहमति भएको थियो । तर आज बिहान त्यसै विषयलाई लिएर एक समूहले अवरोध गर्दा विवाद शुरु भएको स्थानीयहरुले बताएका छन ।
स्थानिय राजपा र नेपाली कांग्रेसका पक्षधरले आ–आफना तर्फबाट त्यो मदरसामा मौलवी राख्ने विषयमा लामो समयदेखि विवाद कायम रहेको थियो । घाइतेहरुको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि जनकपुर अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली पुगेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले विवाद मिलाउन सम्झाईबुझाई गर्दा पनि नमानेकाले दुई राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको बताएको छ । अहिले स्थिति सामान्य बन्न लागेको प्रहरीले जनाएको छ ।