इन्डोनेसियाको राजधानी जकार्तामा एक भव्य समारोहकाबीच एसियाली खेलकुदको १८ औं संस्करण सुरु भएको छ । राष्ट्रपति जोको विडोडोले जकार्ताको गेलारो बुङ कार्नो रंगशालामा खेलको उद्घाटन गरेका थिए ।
उनी निवासबाट कार्गेटमा आए पनि बीच बाटैमा कार्गेटबाट ओर्लिएर आफै मोटरसाइकल चलाएर रंगलाशाला प्रवेश गरेका थिए । मोटरसाइकलमा रंगशाला प्रवेश गरेसँगै एसियाडको भव्य उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको थियो । मोटरसाइकल चढेपछि रंगशाला पुग्नुअघि राष्ट्रपति विडोडोले आकर्षक स्टन्टसमेत प्रदर्शन गरेका थिए । ‘एसियाको नयाँ शक्ति इन्डोनेसियामा तपाईहरुलाई स्वागत छ । एसियाड आजबाट सुरु भएको घोषणा गर्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विडोडोले भने ।
रंगशालाको मध्यभागमा कृतिम पहाडमा झरना बनाएर मञ्चलाई आकर्षक बनाइएको थियो । इन्डोनेसियाको पर्यटकीय एवं चर्चित स्थल बालीको पहाडलाई झझल्को दिने गरी मञ्चमा कृतिम पहाड तयार पारिएको थियो । विविधताले भरिएको इन्डोनेसियाको संस्कृतिलाई उद्घाटन समारोहमा प्रस्तुत गरिएको थियो । चर्चित कलाकारले प्रस्तुती दिएका थिए । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष अहमद अल फहाद अल अहेमद अल सवाहले एसियाडको उद्घाटन समारोहलाई सम्बोधन गर्दै इन्डोनेसियाले ४५ राष्ट्रलाई एउटै स्थानमा ल्याएको र भाइचारको सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए ।
एसियाली खेलकुदकै इतिहासमा दुई फरक शहरमा हुन लागेको एसियाडका खेलहरु सेप्टेम्बर २ तारिखसम्म राजधानी जकार्ता र पालेम्वाङमा हुनेछ । दोश्रो पटक एसियाड आयोजना गरेको इन्डोनेसियाले सन् १९६२ को चौथो संस्करण आयोजना गरेको थियो । ४५ देशका ११ हजार ५ खेलाडी सहभागी एसियाडमा विभिन्न ४० खेलमा ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
२९ खेलमा नेपालको प्रतिस्पर्धा
एसियाडमा हालसम्मकै सर्वाधिक खेलमा सहभागिता जनाएको नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ । १ सय २९ पुरुष र ५६ महिला खेलाडी एसियाडमा सहभागी छन् । नेपालले एसियाडमा सहभागी गराएको खेलाडी संख्या पनि अहिलेसम्मकै सर्वाधिक हो ।नेपालले आइतबार तेक्वान्दो, कुस्ती, फुटबल, ब्याडमिन्टन, उसु, कबड्डी, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्ने अफिसियल रानाभाटले जानकारी गराए ।
कमलले बोके नेपाली झन्डा
दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमलबहादुर अधिकारीले मार्चपास्टमा नेपालको झन्डा बोकेका थिए । मार्चपास्टमा नेपालबाट १ सय १० सदस्यीय टोली सहभागी थिए । केहि खेलाडी आउने क्रम बाँकी रहेको र आइतबार प्रतिस्पर्धा गर्नुपर्ने खेलाडीले मार्चपास्टमा सहभागीता नजनाएको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षक विभाग निर्देशक एवं अफिसियल रिमबहादुर रानाभाटले जानकारी दिए ।