Sunday, June 20, 2021
घरविशेषसम्पादकमाथि काउन्सिलको केरकार निन्दनीय

सम्पादकमाथि काउन्सिलको केरकार निन्दनीय

काठमाडौं – मिडिया स्वतन्त्रताका पक्षमा वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था फ्रिडम फोरमले प्रेस काउन्सिल नेपालले नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल र अन्नपूण पोस्ट्का सम्पादक अखण्ड भण्डारीलाई शुक्रबार कार्यालयमा बोलाएर गरेको ‘केरकार’ प्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

संस्थाले शनिबार विज्ञप्तिमार्फत मिडियालाई नियमन गर्ने सरकारी निकाय काउन्सिलले आफ्नो अधिकार क्षेत्रबाहिर गएर सम्पादकद्वयमाथि केरकार गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। ‘मिडियामा आएका सामग्रीमा प्रश्न उठे पत्रकार आचारसंहिताविपरीत रहेको भन्दै ध्यानाकर्षण गराउन सकिन्छ। तर केरकार गर्ने, धम्की दिने तथा एक्सनमा उत्रिनु काउन्सिलको क्षेत्राधिकारभित्र पर्दैन,’ विज्ञप्तिमा लेखिएको छ।

यस्ता अभ्यासले शक्तिको दुरुपयोग गरी पत्रकारको अपमान र प्रेस स्वतन्त्रता संकुचन गर्न बल पुग्ने फ्रिडम फोरमले जनाएको छ। सरकारले नयाँ कानुन लागू गरेकै दिन काउन्सिलले आचारसंहितासम्बन्धी छलफल भन्दै नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेल र अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक हरिबहादुर थापालाई बोलाएको थियो।

छलफलमा सहभागी हुन नागरिकका प्रधानसम्पादक लुइँटेल र अन्नपूर्ण पोस्ट्का तर्फबाट सम्पादक भण्डारी शुक्रबार बिहान काउन्सिल कार्यालय पुगेका थिए। तर काउन्सिलका कर्मचारीले विषयवस्तुको पूर्वजानकारीबिनै केरकार सुरु गरेका थिए । अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक थापाले आफू अस्वस्थ भएकाले सम्पादक भण्डारीलाई पठाएका थिए।

फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले पछिल्लो समय सरकार र यसका निकायले एक पछि अर्को गर्दै प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरिरहेको बताए। उनले सरकारी निकायले सम्पादकमाथि गरेको अपमान समग्र मिडिया क्षेत्रकै लागि दुःखदायी भएको पनि बताए। फोरमले अधिकारको दुरुपयोग प्रजातन्त्रका लागि प्रत्युत्पादक हुने जनाएको छ। नयाँ ऐनका प्रावधानले सम्पूर्ण प्रेसजग्त पीडामा परेका बेला काउन्सिलको यस किसिमको गतिविधिले प्रतातन्त्रको मूल्य र आदर्शलाई कुल्चेको फोरमको ठहर छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments