Monday, June 14, 2021
घरBanner Newsआजदेखि धुवाँ फाल्ने गाडी निषेध

आजदेखि धुवाँ फाल्ने गाडी निषेध

काठमाडौं : सरकारले वायु प्रदूषण घटाउन भदौ १ देखि देशभर महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ फाल्ने निजी र सार्वजनिक चारपांग्रे सवारीसाधनलाई निषेध गरेको छ । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले यस्ता सवारीसाधनलाई शुक्रबारदेखि सडकमै जफत गरी कारवाही गर्ने जनाइएको छ ।

डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि देशभरका सहरमा शुक्रबारदेखि कडाइ गरेको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । उपत्यकाको नागढुंगा, बल्खु, ठूलो भर्‍याङ, सल्लाघारी, टेकु र एकान्तकुनामा प्रदूषण मापन गरिँदै आएको उनले बताए । विभागले उपत्यकाबाहिर रहेका भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगरलगायत १३ वटा कार्यालयमा प्रदूषण जाँच तीव्र गतिमा थालेको छ ।

सरकारले गत २०७४ फागुन १० मा प्रदूषण मापदण्डभित्र नपर्ने सवारी सञ्चालनमा रोक लगाइने जनाएको थियो । प्रदूषित गाडीलाई २०७५ साल वैशाख १ देखि सडकमा बन्देज लगाउने भनिए पनि प्रदूषण परीक्षण गर्ने मेसिन आपूर्तिमा ढिलाइ भएपछि साउन १ देखि लागू गर्ने मिति तय गरेको थियो । विभागले सवारीसाधन मर्मतसम्भार गरी वातावरणमैत्री स्टिकर लिन एक महिना समय दिएको थियो ।

वायु प्रदूषणको मुख्य कारक सवारीसाधनको प्रदूषण नै रहेको र ३८ प्रतिशत प्रदूषण सवारीसाधनबाट निस्किएको धुवाँ भएको विभिन्न अध्ययनले देखाएका छन् । प्रदूषण नियन्त्रण गर्न सरकारले २०÷२० वटा स्मोक मिटर र ग्यास एनालाइजर मेसिन खरिद गरिसकेको छ । सरकारले प्रदूषण मापदण्ड २०५४ सालमै तोकेको छ । पेट्रोल गाडीका लागि ४.५ प्रतिशत कार्बन मनोअक्साइड र हाइड्रोकार्बन बढीमा हजार पीपीएम (पार्ट पर मिलियन) भन्दा थोरै हुनु पर्छ । डिजेल गाडीको हकमा धुँवाको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयू (हारट्रिज स्मोक युनिट) हुनु पर्छ ।

सडकको धुलो नियन्त्रण गर्न सम्भव भए पनि सवारीसाधनबाट निस्कने धुलो नियन्त्रण चुनौती बनेको भन्दै सरकारले कडाइका साथ प्रदूषण नियन्त्रण थालेको विभागले जनाएको छ । वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने भन्दै सरकार सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी विस्थापित गर्ने योजनामा छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments