काठमाडौं । विद्यालयको पीउने पानीको ट्यांकीमा विष राखिएको घटनाको तत्काल छानविन गरी संलग्न अपराधीलाई कारवाही गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद घनश्याम खतिवडाले घटनाको सत्य तथ्य छानविन गरि संलग्न दोषी माथि कडा कारबाही गर्न माग गरेका हुन् । घटनाको समयमा लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयमा एउटा गाडी पनि चल्न सक्ने अवस्थामा नभएको भन्दै उहाँले लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए ।
मंगलबार मोरङ क्षेत्र नम्बर १, लेटाङ नगरपालिकाको श्री जाँते माविमा विद्यार्थीले पानी पिउने वित्तिकै पेट पोल्ने, बान्ता हुने लक्षण देखिएपछि विद्यालय प्रशासनले चेक गर्दा पिउने पानीको ट्यांकीमा विषको बोतल नै फेला परेको थियो । विषाधियुक्त पानी पिउँदा २६ जना विद्यार्थी बिरामी परेका थिए । १८ जना सामान्य उपचारपछि घर फर्किए पनि २ जनाको उर्लाबारी नगरपालिकाको मंगलबारे अस्पताममा र ४ जना गम्भीर विद्यार्थीको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भैरहेको छ । त्यसैगरी सांसद प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ को वडा नम्बर १०, ११ र २९ मा धोवीखोला र बागमती नदीको बाढीले ठूलो क्षति पुर्याएको भन्दै उपयुक्त राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।