चितवन । नारायणगढ मुग्लिन सडकको घुमाउनेमा गएराति गुडिरहेको कारमाथि ढुंगा खस्दा २ जना घाईते भएका छन् । बा १४ च ६०७६ नम्बरको कारमा राति १० बजे भिरबाट खसेको ढुंगा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारमा सवार पाँचजना मध्ये अगाडी बसेका दुई जना घाईते भएका हुन् । घाइते हुनेमा कारका चालक चितवन ईच्छाकामना गाउँपालिका–५ का सुरेश पुन र तनहुँ बन्दिपुर गाउँपालिका–१ की सन्तोषी गुरुङ छन् ।
कारको अगाडीको भाग क्षतिग्रस्त छ । घुमाउनेमा साउन १७ गतेयता ढुंगा खस्दै आएको छ । घुमाउनेमा विस २०७३ सालको चैत्र २१ मा सुख्खा पहिरो खसेर दुईजनाको ज्यान गएको थियो । गत वर्षको वर्षातमा कालिलखोलामा गएको पहिरोले प्रहरीको गाडी नै बगाएको थियो । चारजानको शब फेला परे पनि एकजना अझै बेपत्ता छन् । ढुंगाले नै लागेर एकजना ट्रक चालक र एकजना माइक्रोबस चालकको निधन भएको थियो ।