काठमाण्डौ । भदौको तेस्रो साता मलेशियामा हुने एशिया कप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली आजदेखि बन्द प्रशिक्षणमा जुट्दै छ । बिहीबार घोषणा भएको १९ सदस्यीय प्रारम्भिक टोली बन्द प्रशिक्षणमा रहनेछन् ।प्रशिक्षणमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसहित बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी रहेका छन् । त्यस्तै आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कार्मी, सुवास खकुरेल, सुनिल धमाला र सुशन भारी टोलीमा समेटिएका छन् । १९ खेलाडीबाट एसिया कप छनोटका लागि १५ खेलाडीको अन्तिम नामवाली घोषणा हुनेछ ।
एसिया कप छनोट भदौ १३ देखि २१ गतेसम्म हुनेछ । त्यसअघि टोलीले अन्तिम तयारी र तीन अभ्यास खेलका लागि श्रीलंका भ्रमण गर्ने छ । मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बिहिबार १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व देसाई समेत नेपाल आउने जनाईएको छ । छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ । त्यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्दैछ । राउण्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । छनोटको विजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । उपाधि विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप भदौ ३० गतेबाट असोज १० गतेसम्म युएइमा हुँदैछ ।