चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेशलाई उपेक्षा गरेर देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् । भरतपुर अस्पतालको निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले संघीयतामा अधिकार, स्रोत र शक्ति प्रदेशलाई दिनुपर्ने बताए । देशमा संघीयता संस्थागत बनेमात्रै जनतालाई प्रदान गरिने सेवा दह्रो हुने मन्त्री यादवको तर्क छ । संघीयता बलियो बने मुलुकको विकास र समृद्धि त्यतिनै अघि बढ्ने मन्त्री यादवको भनाइ छ ।पछिल्लो समय करका कारण संघीयतामा समस्या आएको भन्दै कर उठाउने कुराको अस्पष्टता अन्त्य गरिनुपर्ने उनले बताए । मन्त्री यादवले सरकारले स्वास्थ्य र शिक्षालाई नीतिगतरुपमा पहिलो प्रथामिकतामा राख्ने भन्दै स्वस्थ्य र शिक्षित नागरिक भए देश आफै विकास हुने बताए ।
उनले प्रत्येक स्थानीय तहमा प्राइमरी लेबलको अस्पताल निर्माण गरेर भरतपुरलगायतका अस्पतालमा देखिएको भीड कम गर्न सकिने जीकिर गरे । यसैबिच अस्पतालको निरीक्षणका क्रममा मन्त्री यादवलाई बिरामीहरुले प्रश्नै प्रश्न तेर्साए । ‘मन्त्रीज्यू अस्पतालमा लाइन बसेको घण्टौं भयो, आजमात्र होइन, अस्पतालमा सधै यस्तै सास्ती बेहोर्नु परेको छ’, गैँडोकोटका सुनिल अधिकारीले भने । उनले गरिब जनताले उपचार गर्ने अस्पताल व्यवस्थित र सर्वसुलभ बनाइदिन माग गरे । अधिकारीले जस्तै गुनासो अन्य बिरामी र आफन्तहरुले मन्त्री यादव समक्ष गरेका छन् ।