Tuesday, June 15, 2021
घरBanner Newsअख्तियारका आयुक्तविरुद्धको रिट खारेज, प्रमुखमा सहज

अख्तियारका आयुक्तविरुद्धको रिट खारेज, प्रमुखमा सहज

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि योग्यताको प्रश्न उठाउँदै दायर भएको रिट निवेदनलाई सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

अख्तियारका कार्यवहाक प्रमुख नवीनकुमार घिमिरे, आयुक्त डा.गणेशराज जोशी र आयुक्त सावित्री गुरुङको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरेको हो । २०७३ मंसिर १ गते दक्षबहाुर क्षेत्रीद्वारा रिट दायर भएको थियो ।

राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषदसहित सात निकायविरुद्ध दायर उक्त रिटलाई कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदार प्रसाद चालिसेको संयुक्त इजालसले रिट खारेजीको निर्णय गरेको हो ।

रिट खारेजीसँगै बाँकी तीन बर्षको अवधि पदमा रहेर काम गर्न थप मार्गप्रशस्त भएको छ । रिट निवेदक क्षेत्रीले संविधानको धारा २३८ को उपधारा ६ (ग) अनुरुपको योग्यता नपुग्ने भन्दै गरेको जिकिरलाई सर्वोच्चले खारेज गरेको छ ।

उक्त धारामा अख्तियारको प्रमुख आयुक्त र आयुक्त पदमा नियुक्ति हुनका लागि लेखा, राजश्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरी अनुभव र ख्याती प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

रिट खारेजीको पुर्ण फैसला आउन बाँकी रहे पनि सर्वोच्चले संवैधानिक योग्यतामा प्रश्न उठ्ने ठाउँ नरहेको निश्कर्षमा पुगेको छ । राष्ट्रपति कार्यालय, संवैधानिक परिषद र अख्तियारको प्रतिरक्षामा वहश गर्ने सहन्यायाधिवक्ता संजिव रेग्मीले रिट खारेज भएको जानकारी दिँदै बाँकी अबधि काम गर्न थप सहज भएको बताए ।

उनले कामु प्रमुख आयुक्त घिमिरे र आयुक्त जोशीको हकमा सचिव भएर अवकास भइसकेका कारण संविधानले तोकेको २० बर्षे अनुभव पुगेको र आयुक्त डा.गुरुङको हकमा प्राध्यापनका क्षेत्रमा अनुभव पुगेको आधारमा रिट खारेज भएको बताए ।

‘सर्वोच्चले रिटै खारेज गरिदिएपछि अब प्रमुख आयुक्तका लागि सिफारिस गर्न पनि कुनै बाधा–अड्चन देखिएन,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका रेग्मीले भने । रिट निवेदक क्षेत्रीले पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको पनि योग्यतामाथि प्रश्न उठाउँदै रिटमा विपक्षी बनाएका थिए । बस्न्यात भने यसअगाबै अवकास भइसकेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments