काठमाडौं: २७ दिन लामो अनसन तोडेको १० दिन पुगिसक्दा पनि प्राडा गोविन्द केसीको स्वास्थ्यअवस्था सामान्य हुन नसकेको चिकित्सकले बताएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै १५औं पटक अनसन बसेका केसी तंग्रिन अझै समय लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । २४ सै घण्टा चिकित्सको निगरानीमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीको कोठा नं. ५०२ को वार्डमा उपचाररत केसीको रक्तचाप न्यून छ भने अनशन बस्दा घटेको पोटासियम, म्याग्नेसियम, क्याल्सियमलगायतका विभिन्न रसायनको न्यूनतालाई सन्तुलनमा ल्याउन औषधि सेवन गरिरहेका छन् ।
‘कमजोरी अझैं छ। खाना खानु भएको छैन। भेट्न आएकासँग डाक्टरले नबोल्न भनेका छन्’ केसीका भाइ किशोरले बताए । केसीको अनसनपछि ६ दिनसम्म इमर्जेन्सी कक्षमा उपचार गरिएको थियो भने उनलार्इ मंगलबार वार्डमा सारिएको हो । स्वास्थ्य अवस्थामा सुधार आएपछि केसीले पत्रकार सम्मेलन गर्ने भार्इ किशोरले जानकारी दिए ।