काठमाण्डौ । कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पीडित परिवारले दिएको उजुरीको आधारमा प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका मोहन्याल ५ का २२ ववर्षका जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी दिए ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको घटनाबारे सदनलाई जानकारी गराएका हुन् । यस घटनाको विषयमा संसदमा जानकारी गराउँदै मन्त्री थापाले पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या भएको पाइएको बताए ।
स्थानीय सरस्वती माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने निर्मला ट्युसन पढ्न गएकोमा नफर्किएपछि परिवारले त्यसै दिन राति १० बजे प्रहरीलाई खबर गरेका थिए । उनको शव उखुबारीमा भेटिएको थियो ।