म्याग्दी । प्रभु बैङ्कले म्याग्दी जिल्लाका सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेको छ । जिल्लाका एक नगरपालिका र पाँचओटा गाउँपालिका सहित दुई महीनाको अवधिमा बैङ्कले शाखा विस्तार गरेको हो । बेनी नगरपालिका, धौलागिरि, मालिका, मङ्गला, र घुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका केन्द्रमा बैङ्कले शाखा विस्तार गरेपछि सरकारी कामकाज, कारोबार, व्यापार व्यवसाय र सर्वसाधारणलाई सहज भएको छ ।
स्थानीय तहमा रहेका सेवाग्राहीलाई लक्षित गरी सरल र सहज रुपमा बैङ्किङ सेवा पुर्याउने आक्रामक रणनीतिका लिएको बैङ्कले मङ्गला गाउँपालिका–२ बावियाचौर र अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बुधवार शाखा विस्तार गरेपछि म्याग्दीका सवै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । बैङ्कको १५८ औं शाखा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा र १५९ औं शाखा मङ्गलाको बाबियाचौरमा स्थापना गरिएको हो ।
गाउँपालिकाका विकट बस्तीका जनताले अझैपनि आफ्ना आम्दानीलाई गाउँघरमै आर्थिक हैसियत बलियो भएकालाई दिने, हाते सापटी लिने गरेको अवस्थामा वित्तिय सचेतनामुलक कार्यक्रमलाई दुर्गम बस्तीसम्म पुर्याउने प्रभु बैङ्कका क्षेत्रीय प्रमुख पेशल दाहालले बताए । नेपाल सरकारले ‘एक घर एक खाता, एक व्यक्तिको बैङ्क खाता अनिवार्य’ गराउने अभियानलाई सफल बनाउन बैङ्कले सामाजिक उत्तरदाहित्व बहन गर्ने गरी शाखा विस्तारलाई प्राथमिकता दिएको दाहालको भनाइ छ ।