काठमाडौँ – नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्यायको सुरुवात औपचारिक रुपमा बुधबारदेखि हुँदैछ । नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो एक दिवसीय क्रिकेट प्रतिस्पर्धामा बुधबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
गएको चैतमा जिम्बावेमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो ।
नेदरल्याण्ड्ससँगको पहिलो एक दिवसीय खेल नेपाली समयानुसार बुधबार दिउँसो पौने ३ बजे बजे नेदरल्याण्ड्सको स्थित भिआरए मैदान, आम्स्टरडममा हुनेछ । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो ।
नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो खेल हो ।