काठमाडौं: पछिल्लो समय नेपालमा आत्महत्या कारण मृत्यु हुनेको संख्या डरलाग्दो रुपमा बढ्दै गएको छ । नेपाल प्रहरीका तथ्यांक अनुसार गत बर्षमात्र पाँच हजार भन्दा बढी मानिसहरूले आत्महत्या गरेका छन् ।प्रहरीका अनुसार गत वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका छन् । यो अहिलेसम्मकै उच्च हो ।
आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय ३१ जना मानिसले आत्महत्या गरेका थिए।
अहिले आत्महत्याका घटना डरलाग्दो रुपमा बढिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए।
उनले भने, “यो तथ्यांक एक प्रकारको डरलाग्दो देखिन्छ। यो स्वास्थ्य तथा सामाजिक समस्या हो। केही कम मात्र आपराधिक समस्या हो।”
विश्व स्वास्थ्य संगठनका अनुसार कम आए भएका वा मध्यम आए भएका मुलुकहरूमा आत्महत्याको समस्या जटिल छ।
आत्महत्याका विभिन्न प्रकृतिमध्ये डोरी लगाएर झुण्डिएर आत्महत्या गर्नेहरूको संख्या उच्च छ।
बढ्दो आत्महत्याको समस्या समाधानका लागि सरकारले विशेष कार्यक्रम नल्याए परिस्थिति झन् जटिल बन्नसक्ने मनोबिश्लेषकहरुले चेतावनी दिएका छन्।प्रहरी प्रवक्ता क्षेत्रीले प्रहरीको मात्र एकल प्रयासले आत्महत्याको दर घटाउन नसकिने भन्दै सामुहिक प्रयासको आवश्यकताको खाँचो औंल्याए ।
परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवार अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन्।