Tuesday, October 26, 2021
घरविशेषवि पि कोइरालाको ३६ औं स्मृति दिवस आज

वि पि कोइरालाको ३६ औं स्मृति दिवस आज

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका सस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३६ औ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत १९७१ साल भदौमा भारतको वनारसमा जन्मिएका विपीको २०३९ साल साउन ६ गते अर्थात आजकै दिन निधन भएको थियो ।उनलाई घाँटीको क्यान्सर थियो ।

२०१५ सालमा भएको चुनावमा बहुमत ल्याएपछि उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकारलाई बर्खास्त गरेपछि भारतमा निर्वासित विपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उत्पीडन, कठोर यातना र अत्यन्त कठीन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरे ।

वि.सं. २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेका थिए ।क्रान्तिमा हिंसाको बाटो सजिलो भए पनि हामीले यो बाटो सजिलो हुन्छ भनेर रोज्नु हुन्न भन्ने भनाइमा बीपी सधैं अडिग रहे । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका उनी भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्न भएका थिए ।

भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उहाँको प्रत्यक्ष उठबस थियो । सोसलिष्ट ईन्टरनेशनलका उपाध्यक्षसमेत रहेका उनी सधै ग्रामीण अर्थतन्त्रका हिमायती र प्रजातान्त्रिक समाजवादका अभियन्ता थिए ।

बीपी कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापना र राष्ट्रय हित प्रबद्र्धनका लागि थुप्रैं पटक जोखिम मोले । राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बने ।

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उनले जेल जीवन बिताए । २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपीले अंगिकार गरेको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा वीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किएका थिए ।

संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याएका स्वर्गीय कोइराला नेपाली जनताको अधिकार रक्षाका लागि निरन्तर संघर्षरत रहे । आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments