काठमाडौँ । पहिलो महिला शंकराचार्य पदमा हेमानन्द गिरी विभुषित भएकी छिन् । हिन्दु धर्मावलम्बीहरुको सर्वोच्च पद शंकराचार्य बन्ने उनी पहिलो नेपाली पनि हुन् ।
हिन्दु धर्मका प्रमुख चार स्थलका मठमध्ये भारतको उत्तराखण्डको ज्योतिर्मठको शंकराचार्यका लागि साध्वी गिरीले ३ महिना अघि आफ्नो दावेदारी पेश गरेकी थिइन् । १ हजार २ सय वर्षको शंकराचार्यको इतिहासमा यसखाले दाबी गर्ने आफू पहिलो महिला भएको जनाउँदै शंकराचार्य हुने पनि आफू पहिलो महिला हुन पाएकोमा खुसी लागेको उनले बताइन् ।
उनले भनिन्, ‘यो मेरा लागि ज्यादै ठूलो अवसर हो र सँगसँगै चुनौती पनि छ । तर अवसर र चुनौती दुवैलाई समानरुपले लिएर अघि बढ्छु ।’ यस अघिका शंकराचार्य भन्दा उनी उमेरले पनि कान्छी हुन् । उनको उमेर ४१ वर्ष हो । ‘यति लामो इतिहासमा महिलाको नाम समेत दर्ता नहुने गरेको अवस्थामा यस वर्ष पहिलो पटक आफ्नो नाम, दर्ता मात्र भएन, शंकराचार्य नै बन्न पाउनु नेपालका लागि पनि निकै ठूलो गर्वको विषय हो’ उनले भनिन् ।
विश्व कै पहिलो महिला शकंराचार्यको गौरवशाली र सम्मानित पदबाट गिरी सम्मानित भएपछि नेपाल र विदेशबाट उनलार्इ बधार्इ र शुभकामना दिनेको भीड लाग्न थालेको छ ।