काठमाडौं: डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
२० दिनदेखि चिकित्सक केसी आमरण अनसन बस्दासमेत सरकारले उनको जीवन रक्षाका लागि पहल नगरेको ठहर गर्दै नेपाल चिकित्सक संघले विहीबार एक दिनका लागि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको थियो ।
आजको बन्दले सरकार संवेदनशील नभए अनिश्चितकालका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने संघले स्पष्ट पारेको छ । संघले भनेको छ, ‘आमरण अनसनरत केसीका मागको सम्बोधन गर्नुको साँटो सरकारले उपचारका लागि केसीलार्इ जबरजस्ती काठमाडौं ल्याउन खोजेको छ सरकारलार्इ दवावस्वरुप एकदिनको बन्द गरेका हौं । यसको पनि सुनुवार्इ नभए अनिश्चितकालका लागि सेवा बन्द गर्छौं ।’
संघले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलार्इ आग्रह गरेको छ।