Friday, July 30, 2021
घरBanner News३० हजार अस्थायी कर्मचारीले हाजिर गर्न पाएनन्

३० हजार अस्थायी कर्मचारीले हाजिर गर्न पाएनन्

काठमाडौं : देश स‌ंघीय संरचनामा गएस‌ंगै अस्थायी कर्मचारी हटाउने सरकारी निर्णयका कारण करिव ३० हजार कर्मचारी कामविहीन भएका छन् । सरकारले उनीहरुलार्इ साउन १ गतेदेखि हाजिर गर्न दिएको छैन । तर अस्थायी कर्मचारीहरुले पुनर्वहाली हुनुपर्ने भन्दै कार्यालयमै धर्ना दिन थालेका छन् । अस्थायी, करार र ज्यालादारीमा काम गर्दै आएका कर्मचारीलाई सरकारले हटाउन लागेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरतलाई बिदा गर्न लागिएको हो।सरकारले भने संघीयतामा कतिपय कार्यालय खारेजीमा परेको र स्थायी कर्मचारीको दरबन्दी समेत कटौती भएकाले अस्थायी र करारका कर्मचारी आवश्यक नपर्ने भन्दै हटाउने निर्णय भएको बताउँदै आएको छ।

कर्मचारीले आन्दोलन व्यापक पार्न थालेपछि उनीहरूको मागबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सचिव बैठक बसेको थियो।

बैठकले अस्थायी तथा करार कर्मचारीका विषयमा अध्ययन गरी निकास निकाल्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू सदस्य रहेको उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। सो कार्यदलले ३ महिनासम्म कर्मचारीको समयावधि थपको प्रस्ताव गरे पनि कर्मचारीले भने आफूहरूलाई प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने माग अघि सारेका छन्।

कार्यदलले अस्थायी तथा करार कर्मचारीबारेमा अध्ययन गरी जतिसक्दो चाँडो सरकार समक्ष प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।

लामो समयदेखि सरकारका मन्त्रालय, विभाग, विभिन्न समितिहरू, आयोग, कार्यालय तथा विभिन्न स्थानीय तहमा अस्थायी, करार तथा ज्यालादारीमा काम गर्दै आइरहेका कर्मचारीहरूको जागिर खोसिने क्रम सुरु भएपछि उनीहरूले आन्दोलनलाई गर्दै आएका थिए।

प्रायः सबै मन्त्रालयहरूले मातहतका विभाग तथा निकायमा पत्र लेख्दै अस्थायी तथा करारका कर्मचारीलाई १ साउनदेखि नै हाजिर गर्न रोक लगाउन सर्कुलर जारी गरेका छन्। मन्त्रालयको निर्देशनअनुसार अधिकांश विभाग तथा कार्यालयले १ साउन (मंगलबार) देखि नै अस्थायी र करारका कर्मचारीलाई हाजिर गर्न रोक लगाएका छन्।

यसरी जागिर खोसिनेमा २० वर्षसम्म सरकारी सेवामा रहेर जागिर गरेका कार्यालय सहयोगी, सवारी चालक, हुलाकी, हल्कारा, माली, सूचीकार, कम्प्युटर अपरेटरलगायत छन्। सरकारले धमाधम कर्मचारीहरू हटाउने क्रम थालेपछि अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारविरुद्ध आन्दोलन गर्ने जनाएको छ।

देशभरिबाट राजधानीमा जम्मा भएका जागिर खोसिएका कर्मचारीहरूले मंगलबार दिनभरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिई पुनर्वहालीको माग गरेका छन्।

श्रमिक संघका उपाध्यक्षसमेत रहेका आन्दोलन परिचालन कमिटीका संयोजक कुमार राउतले भने, ‘कर्मचारी हटाउने निर्णय फिर्ता लिनुपर्छ। हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरेपनि स्थायी नगरिए पुन आन्दोलन गर्नेछौं ।’

आन्दोलनमा सहभागी कर्मचारीहरूले सरकारले आफूहरूको जागिर खोसेको टिप्पणी गरे। ‘सरकारले जागिर खोस्ने भनेको छ, अब स–साना छोराछोरीलाई के खुवाउने ? कसरी पढाउने ? ‘, विरोध कार्यक्रममा संलग्न कार्यालय सहयोगी रिता श्रेष्ठले प्रश्न गरिन्।

चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रले ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै योजनामा न्याय र समृद्धि’ नारा दिएका थिए। दुई पार्टी मिलेर बनेको नेकपा सरकारले भने अन्यायपूर्ण रूपमा साना तहका कर्मचारीको जागिर खोसेको भन्दै पीडित कर्मचारीले राजनीतिक नेतृत्वसँग भनसुन पनि गरिरहेका छन्।

पुनर्वहाली माग गर्दै उनीहरूले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी तथा विभिन्न मन्त्रालयका सचिवहरूलाई याचनापत्र समेत बुझाएका छन्। निजामती कर्मचारीसम्बद्ध आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले अस्थायी र करारका कर्मचारीलाई विकल्पबिना हटाउने निर्णय गर्नु गलत भएको बताउँदै हटाइएका सबै कर्मचारीलाई काममा फर्काउन माग गरे।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments