काठमाण्डौं । आसन्न दक्षिण एशियाली खेलकुदको तयारीमा रहेको नेपालका लागी मुख्य रंगशाला कहिलेसम्म बनिसक्ने हो त्यो अझै भन्न सकिने अवस्थामा छैन ।
राष्ट्रिय खेलकुद परिषदको दावी अनुसार आगामी तीन महिना भित्रमा निर्माणको काम सकिने र चीनले तयार गरिदिने भनिएको ट्रयाक बाँकी तीन महिनामा तयार हुन्छ । तर दशरथ रंगशाला पुगेर यहाँ भइरहेको प्रगती हेर्दा त्यस्तो देखिदैन ।
काम गर्ने शैलीबाट र विगतका उदाहरण हेर्ने हो भने पनि त्यो सहजै अनुमान लगाउन सकिन्छ । नेपालले दक्षिण एशियाली खेलकुद आयोजना गर्ने जिम्मा लिएको छ । तर भौतिक पूर्वाधारको अभाव र खेल स्थलका कारण नेपालसँग कुनै पनि देश सन्तु्ष्ट छैन । एक बर्ष भन्दा पनि कम समय नेपाल सामु छ तर नेपालका खेल अधिकारीको तयारी सन्तोषजनक छैन ।
गत साता काठमाण्डौमा दक्षिण एशियाली खेलकुदका लागि भनेर बैठक बसेको दावी गरियो तर त्यो बैठकलाई युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले अनुमोदन नगरेको बुझिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट पनि त्यो बैठकसँग सन्तुष्ट नभएको बुझिएको छ ।
खेल स्थलको अवलोकन गर्नका लागि भनेर दशरथ रंगशाला आउँदा सदस्य सचिव विष्टसँग त्यो टोलीको अकस्मात भएको भेटलाई अर्को रुपमा ब्याख्या गर्न खोजेको खेल क्षेत्रमा चर्चा छ । त्यसमा पनि फेरि ओलम्पिक कमिटिको बैधताको विषय पनि अदालतबाट किनारा लागिसकेको छ ।
तर ललितपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर प्रहरीले सहयोग नगरेका कारण मात्रै जीवनराम श्रेष्ठ समुहलाई केही फाइदा पुगेको बताइन्छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले जीवनराम श्रेष्ठ समुहलाई सबै सम्पत्ति रुक्मशमशेर राणाको कमिटिलाई हस्तान्तरण गर्नु भनेर पत्र लेखेको पनि ३५ दिन भइसकेको छ । त्यसैले साग मात्र होइन अबका दिनमा नेपाल ओलम्पिक कमिटिको विषय नै थप पेचिलो बन्ने संभावना छ ।