बेलायतको लर्ड्स क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् ।
नेपाल र नेदरल्याण्डले आयोजक मेरेलीबोन क्रिकेट क्लब (एमसीसी)लाई हराएका थिए । तर नेपाल र नेदरल्याण्डबीचको निर्णायक खेल भने वर्षाले रद्ध भएपछि दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
लर्डसमा टस हारेर पहिले व्याटिङ शुरु गरेको नेदरल्याण्डले १६ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न थालेको थियो । लगातार वर्षा भइरहेपछि अम्पायरले खेल रद्ध गरिदिए र दुवै टिमलाई संयुक्त विजेता घोषणा गरे ।
नेदरल्याण्ड्सका वेस्ले बेरेसीले सर्वाधिक ४४ रन बनाएका थिए । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक-एक विकेट लिएका थिए ।
एमसीसी ९ विकेटले पराजित
यसअघि लर्डसमा त्रिकोणात्मक टी-२० श्रृखंलाको दोस्रो खेलमा एमसीसीमाथि नेपालले ९ विकेटको फराकिलो जित हात पारेको थियो।
वर्षाका कारण खेल ६ अोभरमा छोट्टाइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले दिएको ४० रनको लक्ष्य नेपालले ८ बल बाँकी छँदै १ विकेट गुमाएर भेट्टायो। नेपालका सुवास खकुरेलले १६ र ज्ञानेन्द्र मल्लले १२ रन जोडे।
त्यसअघि एमसीसीले ४ विकेट गुमाएर ४० रनमात्रै बनाउन सकेको थियो। एमसीसीका लागि उसका कप्तान महेला जयवर्दनेले २४ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। उनले १६ बलमा ४ चौका प्रहार गरेका थिए।
नेपालका सोमपाल कामीले २ तथा शक्ति गौचनले एक विकेट लिए। २ ओभर बलिङ गरेका सोमपालले ८ तथा एक ओभर बलिङ गरेका शक्तिले ६ रन खर्चेका थिए।