Wednesday, September 22, 2021
घरजीवनशैलीबाघको संख्यासहितको प्रतिवेदन सार्वजनिक भएन

बाघको संख्यासहितको प्रतिवेदन सार्वजनिक भएन

काठमाण्डौ । लक्ष्य अनुसारको बाघको संख्या वृद्धि नभएपछि विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गर्ने भनिएपनि बाघको संख्यासहितको प्रतिवेदन सार्वजनिक भएन । सरकारले सन् २०१८ मा बाघको संख्या दुईसय भन्दा बढि हुने लक्ष्य निर्धारण गरेको थियो ।

सन् २०१३ मा गरिएको बाघ गणनामा १९८ बाघ नेपालमा रहेको तथ्याङक सार्वजनिक भएको थियो । झण्डै ४ बर्षपछि १० महिना लगाएर गरिएको बाघ गणनाबाट आएको संख्या सार्वजनिक नगरिएको विभागका अधिकारीहरुले बताएका छन् । बाघ गणनामा झण्डै १० करोड खर्च भएको थियो । सबैभन्दा बढि १२० बटा बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा नै बाघको संख्या घटेको अनुमान छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तीन आर्थिक बर्षमा ११ वटा बाघ मरेको पाइएको छ । आर्थिक वर्ष २०७२/७३ मा एक, २०७३/७४ मा एक र गत आर्थिक बर्ष ०७४/०७५ मा चारवटा बाघ जुधेर मरेका थिए । आर्थिक बर्ष २०७२/०७३ अघिको बाघको मृत्युको संख्या निकुञ्जसँग छैन ।

केही बाघ बुढो भएर केही उपचारको क्रममा, केही बिषादीमा परेर मरेको निकुञ्जले बताएपछि केहीको भने अझै मृत्युको कारण खुलेको छैन । गत आर्थिक बर्षमा मात्रैं चार बटा बाघ मर्नु दुःखद भएको निकुञ्जका अधिकारीहरु बताउँछन् । अघिल्लो तथ्याङक भन्दा चितवनमा १५ वटा बाघ कम भएको दावी गरिएको छ । बाघलाई आवश्यक क्षेत्रफल कमी भएकै कारण जुधेर मर्ने क्रम बढेको हुनसक्ने निकुञ्जको भनाइ छ । बाघ र आहार प्रजातिको गणनाले बाघको धेरै संख्या रहनेमा पर्छ चितवन निकुञ्ज ।

निकुञ्ज विभागको तथ्यांक अनुसार ५ वर्षयता पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म ३३ वटा बाघ प्राकृतिक कारणले मरेका छन् । पर्सा बन्यजन्तु आरक्ष, बर्दिया निकुञ्जमा बाघको संख्या सामान्य बढेपनि मुख्य बाघको बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको दावी स्रोतको छ ।

आज विश्व बाघ दिवसका दिन सार्वजनिक गर्ने भनिएको प्रतिवेदन सोही कारण सार्वजनिक नगरिएको बताइएको छ । बाघ गणना र तथ्यांक विश्लेषणको सबै जिम्मा राष्ट्रिय निकुञ्ज विभागले लिएको थियो ।

पर्सा र चितवन निकुञ्जसँगै भारततर्फको वाल्मीकी टाइगर रिजर्भको सीमासँगै भएकाले बाघ दुवैतिर ओहोरदोहोर गर्ने कारण संख्या कम पनि हुन सक्ने चितवन राष्ट्रिय निकु ञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले बताए । अघिल्लोपटकको गणनामा क्यामेराको क्याप्चरिङ रेट ६५ प्रतिशत रहेकोमा यसपटक ८५ प्रतिशत भएकोले संख्या घटेको पनि देखिन सक्ने उनको भनाई छ । जति क्याप्चरिङ रेट बढि हुन्छ त्यति नै रियल तथ्याङ आउने अर्यालले बताए ।

नेपालका पाँचवटा निकुञ्जमा बाघ पाइन्छन्। हरेक पाँच वर्षमा गणना गरिन्छ। राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा गएको मंसीर १४ देखि थालिएको गणना फागुनमा सकिएको थियो। यस क्रममा क्यामेरा ट्यापिङ प्रविधिबाट बाघको तस्बीर लिइएको थियो। गणनामा ६ सय जोडी (१२ सय) क्यामेरा प्रयोग गरिएको थियो। स्वचालित क्यामेराले ८ हजारवटा तस्बिर कैद गरेका थिए।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशका सरकार प्रमुखहरुको सम्मेलनले सन् २०२२ सम्म विश्वभर बाघको संख्या ३५ सयको दोब्बर पार्ने संकल्प गरेको थियो। नेपालले सन् २०२२ सम्म बाघको संख्या २५० पु¥याउने संकल्प गरेको थियो।

राष्ट्रिय निकुञ्ज विभाग भन्छ: बाघको संख्या घटेको छैन

राष्ट्रिय निकुञ्ज विभागले बाघको संख्या अघिल्लो गणनाभन्दा यसपटक नघटेको दावी गरेको छ । विभागका प्रवक्ता नारायण रुपाखेतीले हामीसंग कुरा गर्दै बाघको संख्या अघिल्लो गणनाको भन्दा बढेको बताए ।

उनले बाघ दिवसका दिनमा बाघ गणनाको संख्या सार्वजनिक गर्ने भनिएपनि तयारी नपुगेको कारणले सार्वजनिक नभएको वताए । ‘बाघ दिवसकै दिनमा सार्वजनिक गर्न खोजेका हौं, तर प्राविधिक कारणले भ्याइएन,हामी काम भैरहेको छ रुपाखेतीले भने, ‘यसलाई अन्यथा सोच्न भएन।’ उनले असोज ७ गते संरक्षण दिवसका दिनमा बाघ गणनाको रिर्पोट सार्वजनिक गर्ने जानकारी दिए।

बाघको संख्या घटेकोले विभागले तथ्याङक सार्वजनिक नगरेको भन्ने चर्चाका बिषयमा प्रवक्ता रुपाखेतीले भने ‘पत्रकारले जे पायो त्यही लेखिदिन्छन्, बाघको संख्या घटेको छैन बढेको छ । ’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments