Friday, July 30, 2021
घरफिचरनारायणगढ-मुग्लिन सडकमा अब ३५ मिनेटमै सरर

नारायणगढ-मुग्लिन सडकमा अब ३५ मिनेटमै सरर

३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।

भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

बिसुरालका अनुसार तीनवटा ठेक्कामा काम भएकोमा दुईवटाले काम सम्पन्न भएको प्रमाणपत्र पाइसकेका छन् । ‘त्यसमा पनि दोस्रो र तेस्रो नम्बरको ठेकेदारले प्रमाणपत्र पाइसकेका छन्,’ उनले भने, ‘पहिलोको काम पनि करिब सम्पन्न भएको छ, चाँडै उसले पनि प्रमाणपत्र पाउनेछ ।’

विश्वबैंकको करिब ३ अर्ब ९० करोड (३६ मिलियन अमेरिकी डलर) सहयोगमा सडक निर्माण भएको हो । ‘भूकम्प तथा आपूर्ति अवरोधजस्ता समस्या नआएको भए परियोजना निर्धारित समयमै सम्पन्न हुने थियो, अहिले सम्पन्न हुनुलाई पनि हामीले समयमै सकिएको मानेका छौँ,’ मुग्लिन–नारायणगढ सडक अनुगमनमा पुगेका विश्वबैंकका नेपाली देशीय प्रबन्धक फेरिस हदाद–जर्वोसले भने ।

यो नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन परियोजना (एनआइआरटिटिपी)अन्तर्गत निर्माण भएको हो । सो परियोजनामा कुल १० अर्ब रुपैयाँ लगानी गरिएको थियो । नेपालको व्यापारसँग सम्बन्धित पूर्वाधार विकासमा यो परियोजना केन्द्रित थियो । ‘नेपालको ९० प्रतिशत व्यापार यही सडकमार्फत हुन्छ, काठमाडौंलाई बाँकी नेपालसँग जोड्ने मात्रै होइन, चीन र भारतका सीमासँग जोड्न पनि यो मार्ग अत्यन्तै महत्वपूर्ण छ,’ हदाद–जर्वोसले भने, ‘यो परियोजनालाई सहयोग गर्न पाउनु र परियोजना सम्पन्न हुनु खुसीको कुरा हो ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले सीमित वित्तीय तथा मानव स्रोत हुँदाहुँदै पनि पूर्वाधार परियोजनाहरू गुणस्तरीय बनून् र समयमै बनून् भनेर आफूहरू लागिरहेको बताए ।

३५ मिनेटमा नारायणगढबाट मुग्लिन
यो परियोजना सुरु हुनुभन्दा अघि नारायणगढ–मुग्लिङ सडकको औसत चौडाइ साढे ५ देखि ६ मिटर थियो । परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ । ‘यो एसियाली राजमार्गको मापदण्डअनुरूप डबल लेन सडकमा स्तरोन्नति भएको छ,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने ।

राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिन्छ । राजमार्ग औसत ६० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्न सकिने गरी बनाइएको आयोजनाका संयोजकसमेत रहेको श्रेष्ठले बताए । स्तरोन्नति हुनुअघि यो दूरी पूरा गर्न एक घन्टा लाग्थ्यो । आजको नयाँ पत्रिकामा समाचार छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments