Wednesday, September 22, 2021
घरBanner Newsविधेयकका २२ बुँदामा संशोधन गरिने

विधेयकका २२ बुँदामा संशोधन गरिने

मध्यरातमा टुंगियो केसीको २७ दिन लामो अनसन

काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले २७औं दिनमा अनशन तोडेका छन् । डा. केसी र सरकारबीच संसद्मा दर्ता भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन सम्बन्धमा नौ बुँदे सहमति भएपछि बिहीबार राति १०ः३० मा उनले अनशन तोडेका हुन् ।

सरकारले केसीले उठाउँदै आएको चिकित्सा शिक्षा सुधारसम्बन्धी माग र प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ लाई कार्यान्वयन गर्ने सहमति गरेपछि केसीको तीन साता लामो अनशन टुंगिएको हो ।

सहमतिअनुसार अब १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने व्यवस्था छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगर्ने सहमति भएको छ ।

त्यस्तै आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका मेडिकल कलेजले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्नेछ । यस्ता शिक्षण संस्थाले आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थान्तरण गर्न चाहेमा नेपाल सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउने सहमति पत्रमा उल्लेख छ ।

जुम्लाबाट सुुरु भएको डा. केसीको १५ औं अनशन २७ दिनपछि राजधानीको टिचिङ अस्पतालमा अन्त्य भएको हो । केसीले अस्पतालको शैय्यामै बसेर सरकारी वार्ता टोलीसँग सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उनलाई नेकपा नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ र चिकित्सा शिक्षाका विज्ञसमेत रहेका त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले जुस खुवाएर अनशन तोडाएका थिए ।

अनशन तोडिएपछि बोल्दै नेकपा नेता नेम्वाङले सरकार सहमतिप्रति प्रतिबद्ध रहने बताए । ‘तपार्इं जुन अभियानमा लाग्नुभएको छ, त्यस अभियानमा प्रधानमन्त्री र सिंगो सरकार प्रतिबद्ध रहेको छ’, नेम्वाङले भने । नेम्वाङले प्रतिबद्धतालाई व्यवहारमा उतारिने भन्दै केसीलाई विश्वस्त बन्न आग्रह गरेका थिए । केसीले अनशन तोडेलगत्तै हात उठाएर उपस्थितलाई अभिवादन गरेका थिए ।

अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश निस्क्रिय भएसँगै सरकारले केसीका मुख्य माग विपरीतका प्रावधानसहितको नयाँ विधेयक संसदमा पेश गरेपछि डा. केसीले अनशन सुरु गरेका थिए । बिहीबारको सहमतिअनुसार केसीका मागबमोजिम चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सरकार तयार भएको छ ।

‘डा. गोविन्द केसीले उठाउनुभएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्ने विषयका सम्बन्धमा संसदीय प्रक्रिया बमोजिम सहमति भएका विषयहरू टुंगोमा पु¥याउन सरकार प्रतिबद्ध छ’, सहमति पत्रमा भनिएको छ, ‘सहमतिका यी विषयहरू संघीय संसदबाट संसदीय प्रक्रिया पु¥याएर यथाशक्य टुंग्याउन सरकारले आवश्यक पहल गर्नेछ ।’

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments