१० साउन , चितवन । चितवनको भरतपुर महानगरपालिकाले निर्धारण गरेको रुट अनुसार नै तीन पाङ्ग्रे गाडीहरु चलाउन मजदुर संगठनका प्रतिनिधि सहमत भएका छन् । महानगरले राजमार्गमा तीन, रिक्सा, अटो रिक्सा, टेम्पो र ई रिक्सा चलाउन नदिने निर्णय पछि मजदुरहरु सडकमा उत्रिएका थिए ।
भरतपुर महानगर क्षेत्रमा तीन हजारको हाराहारीमा तीन पाङ्ग्रे गाडी रहेको मेयर रेनु दाहालको भनाई छ । नारायणगढ पुलचोक, भरतपुर हुँदै गोन्द्राङसम्मको पुर्व–पश्चिम राजमार्ग, पुलचोक, पोखरा बसपार्क हुँदै आँपटारीसम्मको नारायणगढ मुग्लिन सडक खण्ड र आँपटारीदेखि केन्द्रीय बसपार्कसम्मको बाइपास रोडमा महानगरले तीन पाङ्ग्रे चलाउन रोक लगाएको हो ।
तर १८ स्थानबाट यी बाटोहरु क्रस गर्न पाउने सुविधा महानगरले दिएको छ । सोही विषयमा मजदुरहरुले आन्दोलन चर्काउँदा भएको झडपका क्रममा प्रहरीले १० राउण्ड हवाइ फायर र सय शेल अश्रुग्याँस प्रहार गरेको थियो । स्थानिय प्रशासन, महानगर, राजनितिक दल र मजदुर संगठनबीच गएराती भएको वार्तामा सहमती जुटेको हो ।