बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आज पदबाट राजीनामा दिने भएका छन् । उनले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ । मन्त्री तामाङको अभिव्यक्तिलार्इ लिएर चौतर्फी आलोचना भएपछि सोमबार बसेको नेकपाकाे सचिवालय बैठकले मन्त्री तामाङलार्इ पदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।
मन्त्री तामाङले केही दिन अघि काठमाडौंको एक नीजि विद्यालयले आयोजना गरेको कार्यक्रममा बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरुले आफ्नो शरिर नसुम्पी सर्टिफिकेट नपाउने गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । मन्त्रीको उक्त अभिव्यक्तिलार्इ लिएर अहिले सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा निकै आलोचना भइरहेको छ भने बंगलादेशमा अध्ययन गरिरहेका नेपाली छात्राहरुले आफूहरुको चरित्र हत्या गर्न खोजिएको र अस्मितामाथि नै मन्त्रीले धावा बाेलेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
मन्त्री तामाङले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।
डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।
बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् । ‘सरकार र सिंगो पार्टीलाई नै बदनाम गर्ने प्रयास भयो । तपाईले राजीनामा दिनुस् भनेका छौं’ नेकपाएका एक शीर्ष नेताले बताए । केही दिन अघि अर्का मेडिकल व्यवसायी एवम् नेकपाका नेता दुर्गा प्रसाइँले पनि वंगलादेशमा नेपाली छात्रालार्इ त्यहाँका प्रोफेसरले करणी गर्ने गरेको अभिव्यक्ति दिएका थिए । उनले पनि माफी मागेका छन् ।