काठमाडौं : युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नभएको बताएका छन्। सोमबार अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन २०१८ को दशरथ रंगशालामा उद्घाटन गर्दै मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकास पूर्वसर्त रहेको बताए।
‘खेलको विकासले मात्र सिंगो देशले समृद्धि हासिल गर्न सक्छ’, विश्वकर्माले भने, ‘खेलकुदका संरचना बनाएर खेल पर्यटनको माध्यमबाट आर्थिक विकास समृद्धि हासिल गर्न सक्छौँ।’ उनले खेल क्षेत्रमा स्वदेशी-निजी लगानीसँगै वैदेशिक लगानी भित्र्याउन पनि सरकारले भूमिका निर्वाह गरिरहेको बताए।
उनले सरकारले बजेटमा पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउँदै केन्द्र, प्रदेश र स्थानीय तहहरूमा आवश्यकताअनुसार खेलमैदानहरू निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए। खेलकुद क्षेत्रमा नेपालको स्थान माथि उठाउन कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता फलदायी हुने विश्वास उनले व्यक्त गरे।
ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले नेपालका खेलाडीले पनि राम्रो नतिजा निकाल्न थालेको भन्दै खेल क्षेत्रलार्इ विषेश ध्यान दिनुपर्ने बताए। खेल क्षेत्रमा खेलाडीको भविष्य सुनिश्चता हुने वातारण तयार पार्नुपर्नेमा उनले जोड दिए। खेलाडीलार्इ विभागीय टोलीले अनुबन्ध गर्ने गरेकाले केही राम्रो अवस्था भए पनि जागिरको ग्यारेन्टी नहुँदा समस्या रहेको उनको भनाई छ।
खेलकूद परिषद्का सदस्य सचिव केशव विष्टले नेपालमा पूर्वाधारका हिसाबले ब्याडमिन्टन सबैभन्दा सहज खेल भएको बताए। अरू खेलाडीले आफ्नो खेल जीवनमा खेल्नेछन् तर ब्याडमिन्टन खेल जीवनपछि पनि सधैं खेल्न सकिने खेल भएको उनले बताए। ब्याडमिन्टनबाट नेपालले सोचेचस्तो सफलता हात नपारे पनि सुधारको अवस्थामा रहेको उनको दाबी छ।
चिनियाँ सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको दशरथ रंगशाला आउँदो दशैँसम्ममा बनिसक्ने जानकारी दिँदै उनले तेह्रौँ साफ दशरथ रंगशालामै उद्घाटन गर्ने बताए। साफ खेल २०१९ को मार्चमा काठमाडौंमा हुँदैछ।