Thursday, June 17, 2021
घरBanner Newsनेकपामा सचिवालय शक्तिशाली, अध्यक्षलार्इ दिइयो सात अधिकार

नेकपामा सचिवालय शक्तिशाली, अध्यक्षलार्इ दिइयो सात अधिकार

काठमाडौं : नेकपाले ९ सदस्यीय सचिवालयलार्इ शक्तिशाली बनाएको छ । कम्युनिष्ट पार्टीमा स्थायी समितिमा बलियो हुने गरेकोमा नेकपाले आफ्नो विधानमा सचिवालयलार्इ सबैभन्दा शक्तिशाली बनाएको हो । विधानमा केन्द्रीय सचिवालयलार्इ विभिन्न दश अधिकार दिइएको छ ।
नेकपाको सचिवालयमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, प्रवक्ता, महासचिवसहित ९ सदस्य रहेका छन् । सचिवालयलाई केन्द्रीय कार्यालय सञ्चालन गर्ने, केन्द्रीयस्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने अधिकार दिइएको छ।

त्यस्तै, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको बैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार गर्ने अधिकार केन्द्रीय विभाग, मातहत कमिटी, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी नेकपाको अन्तरिम विधान २०७५ मूल्यांकन प्रतिवेदन तयार गर्ने र केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी कमिटीमा प्रस्तुत गर्ने अधिकार पनि सचिवालयलाई छ।

केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकबीचको अवधिमा राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय गर्ने, आफूले गरेका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा प्रस्तुत गर्ने, समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने अधिकार पनि सचिवालयलाई छ।

केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका निर्णयअनुरूप अन्तरपार्टी निर्देशन जारी गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीप्रति उत्तरदायी रहने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका अन्य कार्यहरू गर्ने अधिकार पनि सचिवालयलाई नै छ।

अध्यक्षद्वयलाई सात अधिकार

नेकपाको विधानले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सात अधिकारको व्यवस्था गरेको छ। दुवै अध्यक्षको अधिकार र मर्यादा समान रहने र संयुक्त या परामर्शमा दुईमध्ये एकले बैठकको अध्यक्षता गर्ने अधिकार र कर्तव्यसहितको विधान नेकपाले सार्वजनिक गरेको हो।

यस्ता छन् अध्यक्षका सात अधिकार र कर्तव्य

१. राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको अध्यक्षता गर्ने

२. पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्ने

३. केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा आफ्नो तर्पmबाट, एकताको राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय कमिटीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

४. महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयका निर्णयहरू कार्यान्वयन गर्ने/गराउने

५. पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान कार्यान्वयन गर्ने/गराउने

६. केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने

७. दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने। पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments