Thursday, June 17, 2021
घरअर्थ र विकास५ सय १० स्थानीय तहमा पुगे वाणिज्य बैंक

५ सय १० स्थानीय तहमा पुगे वाणिज्य बैंक

मुलुकका ५ सय १० स्थानीय तहमा ‘क वर्ग’ (वाणिज्य)का बैंकका शाखा पुगेका छन्। संघीय संरचनाअनुसार बनेका ७ सय ५३ स्थानीय तहमध्ये अब २ सय ४३ वटामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी भएका हुन्।

पछिल्ला दस महिनामा मात्रै २ सय १४ वटा स्थानीय तहमा बैंक पुगेका छन्। त्यस्तै १ सय ७९ वटा स्थानीय तहमा बैंकका शाखा स्थापनाको प्रक्रिया अघि बढिसकेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। काठमाडौंमा आयोजित एक कार्यक्रमामा उनले भने, ‘अहिलेको परिप्रेक्ष्यमा अब २० वटा स्थानीय तहमा मात्रै शाखा स्थापनामा कठिनाइ देखिएको छ।’ राष्ट्र बैंकले तोकिएको स्थानीय तहमा शाखा पु-याउन ‘क’ वर्गका बैंकहरूलाई अल्टिमेटम दिएको छ।

स्थानीय तहका सरकारले ‘क’ वर्गका बैंकहरूबाट मात्रै कारोबार गर्नुपर्ने कानुनी व्यवस्था छ। संघीय संरचनालाई सफल बनाउने तथा वित्तीय पहुँच बढाउने अभियानमा सबै स्थानीय तहमा शाखा विस्तार गर्नुको विकल्प नरहेको अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बताए। ‘सरकार जस्तोसुकै सहयोग गर्न तयार छ,’ उनले भने, ‘तर, सबै स्थानीय तहमा बैंकका शाखा पु-याउनुको विकल्प छैन, हामी कसैले पनि यसबाट छुट पाउँदैनौँ।’

कर्मचारी र पूर्वाधार समस्या : बैंकर
सरकारी नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय तहमा बैंकका शाखा पु-याउन नेपाल बैंकर्स एसोसिएसनले सहमति जनाइसकेको छ। ‘कतिपय स्थानीय तहमा सुरक्षा निकाय नै पुगेका छैनन् भने विद्युत्, सडक, इन्टरनेटलगायतका पूर्वाधार पनि छैनन्,’ एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘यद्यपि, हामीले प्रयास गरिरहेका छौँ।’ नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले दक्ष कर्मचारी अभाव अहिलेको मुख्य चुनौती भएको बताए।

सुविधा उपभोग गर्नुहोस् : गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकले दिएको सुविधा उपभोग गर्दै स्थानीय तहमा बैंकका शाखा पु-याउन आग्रह गरे। राष्ट्र बैंकले स्थानीय तहमा शाखा खोल्ने बैंकलाई प्रतिशाखा १ करोड रुपैयाँ निब्र्याजी कर्जा उपलब्ध गराउँदै आएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्था नपुगेका गाउँपालिकामा आगामी आवभित्र २ हजार ५ सय खाता खोलेमा प्रतिखाताबराबर १ करोड रुपैयाँ निब्र्याजी कर्जा दिने व्यवस्था पनि गरेको छ।

सक्षम र १४ बैंकबीच शाखा विस्तारमा साझेदारी
युकेएड सक्षम र १४ वटा वाणिज्य बैंकले स्थानीय तहमा बैंकका शाखा पु-याउन साझेदारी गरेका छन्। प्रदेश नम्बर ५, कर्णाली प्रदेश र प्रदेश नम्बर ७ का ५७ वटा स्थानीय तहमा शाखा विस्तार गर्न सक्षम र वाणिज्य बैंकहरूले साझेदारी गरेका हुन्। सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गर्ने नेपाल सरकारको लक्ष्यलाई समर्थन गर्दै साझेदारी गरिएको सक्षमका टोली प्रमुख बलजित भोहराले बताए। सक्षम र १४ बैंकको साझेदारीले वित्तीय पहुँच विस्तारमा मद्दत गर्ने गभर्नर डा. चिरञ्जीवी नेपालले बताए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments