Tuesday, November 30, 2021
घरBanner Newsमुख्यमन्त्रीको अभिव्यक्ति ‘जनभावना’

मुख्यमन्त्रीको अभिव्यक्ति ‘जनभावना’

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा गरिएको नागरिक अभिन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले कुटनीति मर्यादाविपरीत दिएको अभिव्यक्तिलाई प्रदेश सरकारले ‘जनभावना’ भन्दै धेरै टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

मुख्यमन्त्री राउतले संविधानलाई ‘विभेदकारी’ भन्दै त्यसविरुद्ध संघर्ष जारी रहेको अभिव्यक्तिपछि प्रदेशसभाको बैठकमा विपक्षी दल एमाले, कांग्रेस र माओवादी (केन्द्र) का सांसदले चर्को आलोचना गरेपछि प्रदेश सरकारले बिहीबारको बैठकमा आफ्नो पक्ष राखेको छ । जेठ १ गतेको प्रदेशसभाको बैठकमा विपक्षी दलका सांसदले मुख्यमन्त्रीको अभिव्यक्ति, जानकी मन्दिरमा फरक स्वरूपको राष्ट्रिय झन्डा, भारतीय नेता कीर्ति अजादको जनकपुर भारतमा मिसाउनुपर्ने लेखिएको टिट र मोदी भ्रमणका क्रममा देखिएको अव्यवस्थाका विषयमा बोलेपछि सभामुख सरोजकुमार यादवले जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले संविधानमा रहेको त्रुटिबारे मुख्यमन्त्रीले नागरिक अभिनन्दनमा दिएको अभिव्यक्ति ‘जनभावना’ रहेको बताउँदै मुख्यमन्त्रीको बचाउ गरे । ‘जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको भावनालाई उजागर गर्नु उसको दायित्व हो,’ उनले भने, ‘त्यही बुझेर मुख्यमन्त्रीजीले संवैधानिक त्रुटिबारे बोलेका हुन्, त्यसबारे अनावश्यक टिकाटिप्पणी गर्नुको कुनै औचित्य छैन ।’ जानकी मन्दिरमा रामायण सर्किट उद्घाटन कार्यक्रमको व्यवस्थापन परराष्ट्र मन्त्रालयले गरेको दाबी गर्दै मन्त्री यादवले स्वरूप बिगारिएको झन्डाबारे प्रदेश सरकारलाई कुनै जानकारी नरहेको दाबी गरे । मन्त्री यादवले संघीय सरकारको पत्राचार बमोजिम नै जनकपुरको रंगभूमि मैदानमा नागरिक अभिनन्दन कार्यक्रम सञ्चालन भएको पनि बताए । प्रदेशसभाको बैठकमा बोल्दै मन्त्री यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको क्रममा भएको खर्चको लगत संकलन भइरहेको जानकारी दिए ।

प्रदेशसभाको अधिवेशन अन्त्य
प्रदेश २ को प्रदेशसभाको पहिलो अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । सभामुख यादवले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थबाट आएको बजेट अधिवेशनको अन्त्यसम्बन्धी पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्यको घोषणा गरे । बिहीबार बिहानको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।माघ ७ गतेबाट सुरु भएको प्रदेशसभाको पहिलो अधिवेशनले बजेट र आर्थिक कार्यविधिसहित दुई विधेयक र प्रदेशसभा नियमावली पारित गरेको छ । त्यही अवधिमा प्रदेश सरकारले पठाएको ६ वटा विधेयक प्रदेशसभा सचिवालयमा विचाराधीन छन । तीन महिनाको अवधिमा प्रदेशसभाको २६ वटा बैठक बसेको छ ।

यी बैठकहरूमा सभामुख, उपसभामुखको निर्वाचन, सरकारलाई विश्वासको मत, पूरक बजेट तथा आर्थिक कार्यविधि विधेयक पारित गरिएको थियो । अधिवेशन अन्त्य हुनुअघि बिहान ९ बजेका लागि निर्धारित बैठक साढे १० बजे मात्रै सुरु भएको थियो । बैठक सुरु हुनासाथ प्रदेशसभा सदस्य ज्वालाकुमारी साहले प्रदेशसभा सदस्यहरूले अधिवेशनको कुनै बैठक समयमा सुरु हुन नसकेकोमा सभामुखको ध्यानाकर्षण गराइन् । बिहीबार बिहान बसेको बैठक एक घण्टाका लागि स्थगित गर्दै फेरि बसेको बैठकमा प्रदेशसभा नियमावली विधेयक सर्वसम्मतले पारित गरिएको थियो ।

५ विधेयकलाई स्वीकृति
प्रदेश २ को मन्त्रिपरिषदको बिहीबारको बैठकले एकैसाथ ५ वटा विधेयकलाई प्रदेशसभामा प्रस्तुत गर्न सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषदको बैठकले आकस्मिक कोष स्थापनासम्बन्धी विधेयक, कर तथा गैरकर राजस्व लगाउने र उठाउनेसम्बन्धी विधेयक, मनोरञ्जन कर असुलउपर गर्ने विधेयक, सवारी साधन कर असुलउपर गर्ने सम्बन्धी विधेयक र प्रदेश वन विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति जनाएको छ ।

यस्तै, मुख्यमन्त्री राउतले इस्लाम धर्मावलम्बीको पर्व रमजानको शुभकामना दिँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधायुक्त समाजलाई एकताको सुत्रमा बाँधेर धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न अपिल गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments