यातायात व्यवसायीले सिन्डिकेट कायम गर्न दबाब दिँदै गरेको यातायात बन्दका कारण आज मुलुकका अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
यद्यपी काठमाण्डौ उपत्यकामा भने बन्दको सामान्य प्रभाव परेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकामा मयूर, साझा, महानगर लगायत अन्य माइक्रो बसहरुले सवारी सञ्चालन गरेका छन् । यद्यपी उपत्यकाबाट बनेपा–धुलिखेल रुटका १३ यातायात समितिका सवारी भने ठप्प छन् ।
काठमाण्डौंमा भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । यातायात व्यवसायीको बन्दको प्रभाव प्रदेश नं ५ का अधिकांश जिल्लामा पनि परेको छ । अस्थायी राजधानी बुटवलमा पनि बन्दको प्रभाव परेको छ ।
यस्तै पाल्पामा पनि सिण्डिकेट पक्षधरको बन्दको प्रभाव परेको हाम्रा सहकर्मी माधव अर्यालले जनाएका छन् । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारण यात्रुले सास्ती खेप्नु परेको छ । गएरातिदेखि नै व्यवसायीले तानसेन र रामपुर बसपार्कबाट भाडाका सवारी साधन हटाएका थिए । बन्दका कारण तानसेनदेखि काठमाडौ, पोखरा, बुटवल, नारायणगढ, दाङ्ग, गुल्मी, अर्घाखाँची, बाग्लुङ्गसम्म जाने कुनै पनि सवारी साधन बिहानैदेखि ठप्प छन् ।
कैलालीको धनगढीमा पनि सार्वजनिक सवारी नचल्दा सडक सुनसानप्राय छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले आजदेखि २७ गतेसम्म सेवा बन्द गरेर बन्द हड्ताल गर्ने बताएका छन् ।
यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको बन्दलाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत समर्थन गरेका छन् । सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ ।
सरकारले यातायात व्यवसायीसँग कुनै सम्झौता नगर्ने बताइरहँदा व्यवसायीले भने सरकारलाई निर्णय फिर्ता लिन घुँडा टेकाइछाड्ने अडान लिएका छन् । सरकार र व्यवसायीबीचको जुहारीका बीच सर्वसाधारण भने मारमा परेका छन् । यस्तै सिन्डीकेट पक्षधर व्यवसायीहरुले आफना गाडी घरमै राखेर आन्दोलनमा उत्रेपछि पश्चिम नेपालको यातायात सेवा र यात्रु प्रभावित भएका छन् । ५ , ६ नम्बर सगै कर्णाली प्रदेशका सबै जिल्लामा अघिकांश यातायातका साधन चलेका छैनन् ।
सिन्डीकेटको बिरोध गर्दै आएका व्यवसायीहरुले भने यातायात सन्चालन गरेका छन् । बुटवल देखि कन्चनपुर सम्मको महेन्द्रराजमार्ग सवारी साधन निकै कम चलेका छन् । नेपालगन्जमा मात्र २५ सय सवारी साधन घरमै थन्काइएका छन् । लामो र छोटो दुरीमा चल्दै आएका गाडीमा कमी भएपछि यात्रुहरु बिचल्लीमा परेका छन् ।