काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो उच्चस्तरीय पाहुनाका रूपमा सोमबार पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीलाई स्वागत गर्दै छन् । प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिन अब्बासी काठमाडौं उत्रिँदैछन् ।
उनी प्रधानमन्त्री ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफल गर्न आउन लागेको बताइएको छ ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिनै पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउन लागेको बताए । भेटमा दुई मुलुकका कार्यकारी प्रमुखबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने पनि उनले जनाए ।
२०७१ मंसिरमा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्कको बैठक हुन सकेको छैन । त्यही बैठकबाट प्रत्येक दुई वर्षमा शिखर बैठक आयोजना गर्ने तय गरिएको थियो । तर, त्यसपछि पाकिस्तानमा हुने तय भए पनि बैठक रोकिएको थियो । भारत प्रशासित उरीमा भएको हमलामा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतले २०७३ मंसिरमा पाकिस्तानमा डाकिएको सार्क बैठकमा सहभागी हुन अस्वीकार गरेको थियो । त्यसलगत्तै अफगानिस्तान, भुटान र बंगलादेशले पनि बैठकमा भाग नलिने जनाएपछि बैठक स्थगन गरियो ।