Tuesday, September 21, 2021
घरBanner Newsरारा स्वर्गकी अप्सरा

रारा स्वर्गकी अप्सरा

प्रकृतिको सुन्दर उपहार रारा हेर्ने भनेपछि कसको मन प्रफुल्ल नहोला ! काठमाडौंको कंक्रिट जंगलमा बसेर यान्त्रिक रूपले सधैं एउटै काममा लागिरहँदा शरीरसँगै मस्तिष्क पनि थकित हुन्छ । शरीरलाई सक्रिय बनाइराख्न आरामका साथै मनोरञ्जन पनि चाहिने रहेछ । यसैले पनि रारातर्फको यात्रा रोमाञ्चक थियो । झोलामा पानी, बिस्कुटका प्याकेट, लत्ताकपडासहित बन्दोबस्तीका सामान बोकेर अघिल्लो साता १० जनाको टोली कर्णालीको यात्राका लागि काठमाडौंबाट त्रिभुवन विमानास्थलतर्फ सोझियौं ।

राराको रहरले मन यसै उफ्रिरहेको थियो । हाम्रो यात्रामा सामेल हुन काठमाडौंबाट सदस्य थपिँद थिए । पूर्वनिर्धारित समयमा एयरपोर्ट पुगेपछि मात्र थाहा भयो, मौसमका कारण हिजोको जहाज रद्द भएछ र आजको नियमित उडानमा हिजोकै यात्रु पालो कुरेका रहेछन् ।

यतिका मान्छेलाई एक आखर खबर नै नगरी अनिश्चित समयसम्म कुराउने र जुनसुकै बेला फिर्ता पठाउन सक्ने जहाजवालाको रवैया देखेर हामी अवाक भयौं । जहाजका कर्मचारीले जहाज उड्ने वा नउड्ने, उडे पनि पुग्ने वा फर्कने, कसैले भन्न नसक्ने कुरा बताउँदा अनौठो लाग्यो ।

पहिले जहाजमा अघिल्लो दिन रोकिएका यात्रु लैजाने अनि त्यसपछि डोल्पा जाने, फर्केर आएपछि मात्र हामीलाई जुम्ला लगिदिने कुरा भयो । त्यसमा पनि मौसमले साथ दिएमात्र । केहीबेरको रस्साकस्सीपछि काठमाडौं एअरपोर्टबाट हाम्रो टोली नेपालगन्जतर्फ जान सफल भयो । जुम्लामा मेलमिलापसहितका कार्यक्रम भ्याएर राराको रमणीयतामा हराउने योजना भित्रभित्रै बुनिरहेको थिएँ ।

यात्रामा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष वैद्यनाथ उपाध्याय, उहाँकी धर्मपत्नी दीपा उपाध्याय, सहरजिस्ट्रार नहकुल सुवेदी, उहाँकी धर्मपत्नी सुमित्रा लामिछाने सुवेदी, उपरजिस्ट्रार गजेन्द्रबहादुर सिंह, शाखा अधिकृत राजनप्रसाद बाँस्तोला, भाषाविद् रामचन्द्र फुयाल, लेखा अधिकृत लोकनाथ पोखरेल, प्रहरी नायब निरीक्षक यशुहरि अधिकारी र म सामेल थियौं ।

टोलीको नेतृत्व वरिष्ठ न्यायाधीश उपाध्यायले गर्नुभएको थियो । हामी नेपालगन्ज उत्रिएलगत्तै जुम्लाको यात्रा तय भयो । जहाजबाट मुनि हेर्दा अग्लाअग्ला थुम्का देखिए । विकराल पहाड देख्दा वैराग लागेर आयो । मनको त्रास अनि शंका उपशंकाका कारण बनेर यी भीमकाय पहाडले तर्साए झैं लाग्दैछ ।

रारा वास्तवमा विशाल छ । भव्य छ र आकर्षक पनि । रारामा आँखा परेपछि यसको सुन्दरताको माद यसरी चढ्दो रहेछ कि झन्डै डेढ, दुई घन्टासम्म राराकिनारको यात्रा हुँदै कसरी रिसोर्ट पुगिन्छ पत्तै हुँदैन ।

उहिले फोटो र टेलिभिजनमा देखेका उनै लोभलाग्दा प्राकृतिक सुन्दरताका पहाड र बादलको घुम्टो नजिकैबाट साक्षात्कार गर्दा फेरि मनमा अर्कै आनन्दको अनुभूति पनि भइरहेछ । जुम्लाको एयरपोर्ट देखेपछि एकाएक होस आयो । यताउता हेर्दा, यात्रुहरूमा विजयभाव छचल्किए झंै लाग्दैछ ।

यो यात्रा त जबर्जस्त साहसिक यात्रा पो रहेछ भन्ने लाग्यो । जुम्ला एअरपोर्टमा ओर्लिएपछि सम्मान दिन आएका व्यक्तित्वहरूले खादा र माला पहि¥याइदिए । कर्णालीको जमिनमा खुट्टा त थिए तर मनमस्तिष्क भने अझै सामान्य भइसकेको थिएन । जुम्ला विमानास्थल ओर्लेपछि स्वागतमा आएका अदालतका कर्मचारीले राम्ररी आउनुभो ?       भनेर सोध्दा उपाध्याय श्रीमान्को जवाफ थियो, ‘खुट्टा त आइपुगे होस आउन अझै बाँकी छ ।’

यात्रा रमाइलो मात्र होइन, मनमा अलिकति त्रास पनि बाँकी थियो भन्ने उक्त अभिव्यक्तिले बुझाउँथ्यो । जुम्लामा स्थानीय दाजुभाइहरूसँग साक्षात्कार भयो । जुम्ली सिमीको दाल र रातो चामलको भात साथमा तिला खोलाका असला माछा । बयान गरिनसक्नुको स्वाद छ । अनि साँझपख देउडासहितको भिन्नै रौनक । त्यहाँ दुई रात बिताएपछि सदरमुकाम खलंगातर्फ लागियो । खलंगा सुनेभन्दा निकै मनमोहक र सभ्य छ ।

यहाँबाट अबको यात्रा मुगुस्थित राराका लागि सुरु हुन्छ । कच्ची पहाडको मोटरबाटो भएर जुम्लाबाट रारा पुग्न झन्डै दिनभर लाग्दो रहेछ । राराको मालीचौरसम्म मोटर पुग्छ । यात्रा कठिन र जोखिमपूर्ण छ । लामो थकानका बीच हामी मालीचौर पुग्यौं ।

मालीचौरको विशाल छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, चारैतिर ठूलो चौर, माथि नीलो आकाश, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्य । यो सब अनुपम सुन्दरताको खजाना देखेपछि एकैछिनमा सारा थकान, विचार र विकारहरू एकाएक लोप भएर गए ।

हामी रारा नजिकै पुग्दैछौं । छेउमै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल ? ‘ मनमा कुतुहलता चलिनै रहेको छ । नेपालको ठूलो ताल रारामा एक रात बिताउने काठमाडौंको योजना सत्यमा परिणत भइरहेको थियो । मन भित्रभित्रै पुलकित छ । रारा पुग्न मालीचौरबाट हिँड्नुपर्दो रहेछ ।

सल्लाघारीको बीचबाट विशाल गोरेटो छ । जंगलभित्र छिर्न कठिन हुने बुट्टयानहरू साथमा रूखका हाँगाहाँगासम्म फैलिएका सुकेका लेउहरू । झाडीका बीचमा आउने झ्याइँकिरीको आवाजसँगै जंगली संगीतले साउती गर्दैछ । झन्डै ३० मिनेट पैदल हिँडेपछि एउटा नसोचेको दिव्य संसार आउँछ । त्यही रहेछ रारा । गोधूलि साँझ पर्दा नपर्दै हामीले रारामा पाइला टेक्यौ ।

हिमाली भेगमा ठूल्ठूला पहाडहरूले चारैतिरबाट घेरेका छन् । पहाडहरू हरिया छन् । विशाल उपत्यकाभित्र पानीपानीले डम्म भरिएको ताल छ । यही हो नेपालको सबैभन्दा ठूलो ताल अर्थात् रारा । समुद्र सतहबाट झन्डै तीन हजार मिटरको उचाइमा छ रारा ।

यतिका इचाइमा रहेर फेरि पनि झन्डै एक सय ६७ मिटर गहिराइ छ यसको । रारा वास्तवमा विशाल छ । भव्य छ र आकर्षक पनि । रारामा आँखा परेपछि यसको सुन्दरताको माद यसरी चढ्दा ेरहेछ कि झन्डै डेढ दुई घन्टासम्म रारा किनारको यात्रा हुँदै कसरी रिसोर्ट पुगिन्छ पत्तै हुँदैन ।

रारा तालको हरेक एकाइ र समग्रताको मनमोहक सौन्दर्यमा मान्छे कुन हदसम्म लठ्ठिन्छ भनेर अनुवाद गर्न कठिन छ । कुरा सुनेर, फोटो हेरेर वा संस्मरण पढेर मात्र राराको अनुभूति गर्न सकिन्न । रारा महसुस गरेकाले मात्र ठोकुवा गर्न सक्छन्, कुनै पनि तर्कले ‘रारा’ फगत एक संयोग वा यसको सामान्य कारण हुनै सक्दैन ।

रारामा आएर कवि नबन्ने, मानवीय नहुने र सुखभोग नगर्ने प्रकृतिको कुनै चराचर प्राणी हुन सक्दैन । हरियो कोणधारी जंगलबीचमा नीलो पानी । त्यसैमा समर्पित हुँदै पौडिरहेका रंगीविरंगी माछा अनि जंगली चराहरू । बजारविहीन तालको तट, छेउछाउमा रंगीविरंगी जंगली फूल, नगन्य बस्ती र नजिकै चियाउन सकिने हिमाली दृश्यको वैभवता ।

रारा छेउ कुनाबाट सूर्यास्त हुँदैछ । टोलीका हामी सबैलाई राराको अलौकिक दृश्यले मन्त्रमुग्ध पार्दै एको¥याइरहेछ । म एकैछिन कल्पना गर्दैैछु, वनैभरि गुराँस फुलेको, पातपातमा हिउँ फुस्फुसाएको अनि सिमसिमे घामपानीमा इन्द्रेणी परेका बेला झन् कस्तो हुँदो हो यो रारा ।

यो मस्तीमा नरमाउने कुन मानव होला ?जंगली फूलको सुवास, जडीबुटी, माछा, नानाथरीका हाँस, घोडा, भेडा सबैथरी मिलेर बनेको छुट्टै संसार रारा । जलचर र थलचरको अजीव मि श्रणले लाग्दैछ, रारा मान्छेहरूका लागिभन्दा देवीदेवताहरूको उच्चस्तरीय कलाकारिता पो हो कि । क्यामरामा रारा अटाउन असम्भव छ । न त ५, ६ किलोमिटर फैलिएका यसको सुन्दरताको कहानी भनेर साध्य छ । न पूरै लेख्न नै सकिन्छ ।

तत्कालीन राजा महेन्द्रले प्रिय रारालाई भेटेपछि यत्तिकै लेखेका रहेनछन् , ‘हे दैव, अहो के खनायौ यसमा ?       रारा कि अप्सरा ।’ रातिमा पनि झ्याल खोलेर रिसोर्टबाट रारालाई चियाउन खोज्दैछु । यसको रहस्य अरू बुझ्न मन हुँदैछ । एकनासले हावा सुसाइरहेको छ । चराहरूको चिरबिर आवाजले रातिमा पनि रारा गुञ्जिन्छ । रमणीय क्षणलाई समात्न सिपालु काव्य पुरुषहरू मानौं समयलाई नै रोक्न खोज्छन् । राराको फोटो खिच्छन् ।

चराहरूको चिरबिर आवाजले रातिमा पनि रारा गुञ्जिन्छ । रमणीय क्षणलाई समात्न सिपालु काव्य पुरुषहरू मानौं समयलाई नै रोक्न खोज्छन् । राराको फोटो खिच्छन् । निष्कपट वातावरणको मनमोहकतासँगै पर्यटकहरू यसैको मादमा उन्मक्त देखिन्छन्।

निष्कपट वातावरणको मनमोहकतासँगै पर्यटकहरू यसैको मादमा उन्मक्त देखिन्छन् । कञ्चन पानीमा माछा डुबुल्किए जसरी मान्छेहरू एकैछिन प्रकृतिसँग हराउँछन् ।

राराको सुन्दरताभित्र अर्को दुःखको संसार पनि अटाएको छ । भर्खरै २१ लागेका स्थानीय नाउँबाजहरूले भ्यासेक्टोमी गरेका हुँदाछन् । उनीहरूसँगको बातचितमा यो कुरा सुनाए । यो सुनेर मनमा एकैछिन भित्रैसम्म पिरो भयो । कारण, सानै उमेरमा बिहे र बच्चा उत्पादन गर्ने त्यसपछि परिवार नियोजनको स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गर्ने चेतना पुगेको रहेछ ।

सरदर औसत आयु ३९ वर्ष रहेको कर्णालीमा बाल्यकालबाट सोझै वृद्धावस्थामा जानुपर्ने कहालिलाग्दो अवस्था छ । उनीहरू प्रकृतिप्रदत्त यस्तो सौन्दर्यका विषयमा अञ्जान छन् ।

यो वैभव मुन्तिर गरिबी र अशिक्षाको अर्को कुरूप तस्बिर छ । रारा यस्तो लोक हो जहाँ पैसा बिक्दैन, खाद्यान्न चाहिने जति जहाजमा आफैंले बोकेर लैजानुपर्छ ।

विज्ञानप्रविधिले निम्ताएको विकास र विनाशबाट रारा धेरै टाढा छ । फेरि पनि रारा सुन्दर र शान्त छ । राराको महिमा प्रचारप्रसार हुन सके पर्यटकले भरपूर मनोरञ्जन लिन सक्ने निर्विकल्प गन्तव्य हुनसक्छ । यसैबाट रोजगारी र विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि जुट्न सम्भव छ ।

रारा मानिसका लागि सुखको वर्षा गराउने सम्पदा बन्न सक्छ । यतिमात्र होइन, हामीलाई प्रकृतिले रारा जस्ता हजारौं बरदान यही मुलुकभित्रै दिएको छ । यी सम्पदा हाम्रा पेवा हुन् । तर पनि यस्ता चिजको उपयोग गरेर अझै किन नेपालीको भाग्य बदल्न सकिएको छैन ?

मनमा यस्ता छालहरू आउँछन् । काठमाडौं सहरबाट ‘रारा’ धेरै दूर छ । सामान्य हिसाबले पुग्न सजिलो छैन । तर जब पुगिन्छ, त्यसको परिवेशसँगै डुबेर एकैछिन हराइन्छ । रारासँगै पग्लिँदै भोलिपल्ट बिदा भयौं । फर्किएपछि मलाई फेरि लेख्न मन लाग्यो :

जगत्को सारा, गजबको रारा ।

हेरिरहुँ लाग्ने, यसको नजारा ।

(लेखक सर्वोच्च अदालतका उपरजिस्ट्रार हुन्)

 अन्नपूर्ण पोष्टबाट साभार
RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments