Friday, July 30, 2021
घरअर्थ र विकाससिमेन्ट–रडको चर्को मूल्य, मूल्य घटाउन आलटाल

सिमेन्ट–रडको चर्को मूल्य, मूल्य घटाउन आलटाल

काठमाडौँ — सिमेन्ट/रड व्यवसायीले तीन दिनभित्र अस्वाभाविक रूपमा बढाएको भाउ घटाउने सहमति जनाए पनि समय सकिँदा आलटाल गर्न थालेका छन् । उत्पादन लागत, क्लिंकर आयातमा समस्यालगायत बहानामा व्यवसायीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको फेला परेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार व्यवसायीसँग छलफल गरेको थियो ।

त्यसक्रममा व्यवसायी स्वयम्ले तीन दिनभित्र मूल्य घटाउने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धताअनुसार शिवम् सिमेन्टले प्रतिबोरा २२ रुपैयाँ २६ पैसा घटाए पनि अन्य उद्योगीहरूले पालाना गरेका छैनन् । उनीहरूले मूल्य घटाउन आलटाल गर्दै आएका छन् ।
‘सोमबार भएको छलफलमा व्यवसायीले स्वयमले मूल्य घटाउने सहमति भएको थियो,’ विभागका महानिर्देशक कुमार दाहालले भने, ‘तर, शिवम् सिमेन्टबाहेक अन्यले प्रतिबद्धता कार्यान्वन गरेनन् ।’ विभागका अनुसार शिवम्ले ओपीसी सिमेन्टको कारखाना मूल्य प्रतिबोरा ९ सय १० रुपैयाँ (करसहित) मा बिक्री गर्दै आएको थियो । बुधबार (१० गते) देखि लागू हुने गरी मूल्य घटाएर ८ सय ८७ रुपैयाँ ४० पैसा तोकेको पत्र विभागमा पठाएको छ ।
व्यवसायीले सहमति कार्यान्वयन नगरेपछि विभागले बिहीबार पुन: २४ घण्टाभित्र उपस्थित हुन पत्रचार गरेको छ । विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार मारुती, सर्वोत्तम, भूगर्भ, अग्नि, घोराही, अर्घाखाँची, अम्बे, बृज, शुभश्री, अरनिको, नारायणी, गोयन्कालगायत १८ वटा सिमेन्ट उद्योगलाई पत्र काटेको हो । अम्बे, काठमाडौं, गोयन्का, लक्ष्मी, जगदम्बा स्टिल उद्योगलाई पनि २४ घण्टाभित्र उपस्थित हुन पत्र काटेको विभागले जनाएको छ । ‘विभागले मिति २०७४/९/२५ र २६ गते धादिङ जिल्लामा अनुगमन गर्दा कम्पनीबाट उत्पादित सिमेन्ट र छड बोकेका ट्रकबाट कम्पनीबाट जारी भएको बिलबीजक यस विभागले नियन्त्रणमा लिई कारबाही अगााडि बढाएको सन्दर्भमा थप अनुसन्धानका लागि २४ घण्टाभित्र उद्योगको आधिकारिक प्रतिनिधि बयानका लागि उपस्थित गराइदिनुहुन आदेशाअनुसार अनुरोध छ,’ विभागले उद्योगीहरूलाई पठाएको पत्रमा उल्लेख छ ।
विभागले तयार पारेको ‘निर्माण सामग्रीको विश्लेषण प्रतिवेदन’ मा व्यवसायीहरूले १५ दिनमै ५ पटक मूल्य बढाएको फेला परेको उल्लेख छ । एक महिनाको अवधिमा ५ देखि १८ प्रतिशतसम्म मूल्य बढाएको प्रतिवेदनमा उल्लेख छ । यसरी अस्वाभाविक रूपमा मूल्य वृद्धि गराउने उद्योगीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उपभोक्ताकर्मीहरू बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले मूल्य नघटाउने उद्योगलाई तत्काल कारबाही गर्नुपर्ने बताए । विभागले तयार पारेको प्रतिवेदनमा बिनाकारण उच्च मूल्य बढाएको पुष्टि भए पनि कारबाहीको सट्टा मूल्य घटाउन समय दिनु भनेकै नियतमा शंका उब्जेको बताए ।
‘प्रतिवेदनमा प्रस्ट अस्वाभाविक मूल्य वृद्धि उल्लेख भए पनि कारबाहीको सट्टा मूल्य घटाउन समय दिइएको छ,’ उनले भने, ‘मूल्य घटाउन समय दिनु भनेकै खेल्न समय दिनु हो । यसले विभागको नियतमाथि शंका उब्जेको छ ।’ निर्वाचनको बेला राजनीतिक दललाई दिएको चन्दा उठाउन पनि मूल्य बढाएको उनले आरोप लगाए । विभागका महानिर्देशक दाहालले कृत्रिम मूल्य वृद्धि गराउने व्यवसायीलाई छुट नहुने बताए । ‘मूल्य नघटाउनुको कारणसहित उपस्थित हुन २४ घण्टे पत्र पठाएका छौं,’ उनले भने, ‘२४ घण्टाभित्र उपस्थित नभए पक्राउ गर्न प्रहरीलाई पत्र पठाउँछौं ।’
विभागका अनुसार ट्रक व्यवसायीले इन्धनको मूल्य वृद्धिको बहानामा अवैज्ञानिक रूपमा ५ प्रतिशतदेखि १८ प्रतिशतसम्म भाडा वृद्धि गरेका छन् । जसअनुसार प्रतिबोरा २० रुपैयाँसम्म भाडा वृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसलाई पुष्टि गर्न ढुवानी व्यवसायीलाई पनि पत्र काटेको महानिर्देशक दाहालले बताए । क्लिंकर आयातमा केही असहजता भए पनि क्लिंकरको मूल्यमा खासै वृद्धि नभएको विभागको ठहर छ । तर, विभिन्न बहानामा व्यवसायीले मूल्य बढाएको विभागको दाबी छ ।
उद्योग अनुगमनका क्रममा मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भनिए पनि क्लिंकर आफैं उत्पादन गर्ने उद्योगले समेत मनोमानी मूल्य वृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ । उद्योगले गरेको मूल्य वृद्धि तथा भाडामा भएको मनोमानी मूल्य वृद्धिले हाल उपभोक्ताले प्रतिबोरा १२० रुपैयाँ तथा डन्डीमा प्रतिकिलो १० रुपैयाँसम्म बढी मूल्य तिर्न बाध्य छन् । मारुतीले प्रतिबोरा ७ सय ८० रुपैयाँमा बिक्री गर्ने सिमेन्ट हाल ८ सय ३० रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिबोरा ६ सय ४० रुपैयाँमा बिक्री हुँदै आएको निर्माण सिमेन्ट हाल ७ सय २० रुपैयाँ तोकेको छ । ६ सय ५५ रुपैयाँ पर्ने अग्नि सिमेन्ट बढेर ७ सय २४ रुपैयाँ पुगेको छ ।
७ सय ५० रुपैयाँ पर्ने शालिमार ८ सय ७० र ६ सय ५० रुपैयाँ पर्ने अम्बे सिमेन्ट बढेर ७ सय ६० रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्टले पनि प्रतिबोरा १ सय ३ रुपैयाँ बढाएको छ । प्रतिवेदनअनुसार ७ सय ९५ रुपैयाँ पर्ने हेटौंडा सिमेन्ट हाल ८ सय ९८ रुपैयाँ पर्छ । महानिर्देशक दाहालले सरकारी सिमेन्टले पनि तत्त्काल मूल्य घटाउनुपर्ने बताए । ‘सरकारी सिमेन्ट भन्दैमा जथाभावी मूल्य बढाउन पाइँदैन,’ दाहालले भने, ‘हेटौंडा सिमेन्टलाई पनि २४ घण्टाभित्र उपस्थित हुन पत्र पठाउँछौं ।’ अस्वाभाविक मूल्य वृद्धिको विरोध भएपछि नेपाल सिमेन्ट उत्पादक संघले पनि मूल्य घटाउन व्यवसायीहरूलाई पत्रचार गरेको छ ।
RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments