Monday, June 14, 2021
घरपत्रपत्रिकासामाजिक सञ्‍जालको लत

सामाजिक सञ्‍जालको लत

यसै वर्षको भदौ महिनामा अर्जेन्टिनाको एउटा झ्यालखानामा लागूऔषध बोकी पुर्‍याउन आउने परेवालाई त्यहाँको प्रहरीले गोली हानी मारेको खबरले प्राचीन युगमा फारसीहरूले चरालाई तालिम दिने गरेको र पूर्र्वीय देशहरूमा परेवाको माध्यमबाट खबर आदान–प्रदान गर्ने गरेको सम्झना गराउँछ। परेवादेखि स्न्यापच्याटसम्म आइपुग्दा सञ्चारका धेरै माध्यम विकास भए। केही चल्दैछन्, कति हराए। त्यो निजी सञ्चार होस् वा आमसञ्चार नयाँ अनुसन्धान, त्यसको विकास, चरम उत्कर्ष र अवसान वा नयाँ विधिद्वारा प्रतिस्थापन हुँदै आइरहेको छ। पौने चार अर्ब इन्टरनेट प्रयोगकर्ता, सवा अर्ब वेबसाइट, ७० अर्बभन्दा बढी दैनिक इमेल आदानप्रदान, २७ हजारभन्दा बढी टीभी च्यानल, लगभग ६ अर्बभन्दा बढी मोबाइल फोन प्रयोगकर्ता र त्यसमध्ये दुई अर्ब स्मार्टफोन प्रयोगकर्ता छन्। अमेरिका, युरोप र चीनमा मात्र ६० करोडभन्दा बढी टेलिफोन लाइन छन्।

संसारभर प्रतिदिन साढे दुई अर्ब मान्छे पत्रपत्रिका पढ्छन्। अमेरिकामा मात्र ११ हजारभन्दा बढी रेडियो स्टेसन छन्। हजारांैको संख्याका सामाजिक सञ्जालले जालोले झैं संसारका मान्छेलाई ढपक्कै ढाकेको छ। त्यसरी ढाकिएकाले नै यसलाई वेब र नेट भनिएको होला। यी दुवै शब्दको शाब्दिक अर्थ जालो वा जाल नै हुन्छ। संसारको जनसंख्याको एकतिहाइ मानिस हरेक महिना फेसबुक चलाउँछन्। वर्षभरिमा झन्डै ४० अर्ब फोटो अपलोड हुन्छ। यस हिसाबले कति अर्ब ‘उत्पादन घन्टा’ संसारभरिका मान्छेले बिताएका होलान् ? फेसबुक एक हो। यस्ता हजारौं छन्। चीनमा वीच्याट र वेवोजस्ता दर्जनौं सञ्जाल प्रख्यात छन्। रसियामा मिकेडट कम र ओकेडट आरयूजस्ता दर्जनौं साइट छन्। भारतजस्तो आफ्नै भाषा बोल्ने ठूलो जनसंख्या भएका देशमा पनि सयौंको संख्यामा आआफ्नै सञ्जाल छन्। एक्काइसौं शताब्दीको पहिलो पुस्ता त सञ्चार भनेकै सोसल मिडिया मात्र हो भन्ने ठान्दा हुन्।

औंलामा संसार

सञ्चारले संसारलाई सानो गाउँ बनाइदिएको छ। जुनसुकै काम गर्दा पनि हामीले यो नयाँ प्रविधिको सहयोग लिन थालेका छौं। यही लेख लेख्दा पनि इन्टरनेटको सहायता लिइएको छ। यो लेख्दासम्म एक अर्ब २८ करोड बहत्तर लाख ६ हजार ७ सय उनान्नब्बे बेवसाइट दर्ता भई सञ्चालनमा छन्। सञ्चारले स्वास्थ्य, यातायात, शिक्षा, अनुसन्धान, व्यापार, कृषि, पेसा, शासन–प्रशासन, सुरक्षालगायत सबै क्षेत्रमा सकारात्मक परिवर्तन र मितव्ययिता ल्याइदिएको छ। टेलिमेडिसिनको माध्यमबाट दुरदराजमा बस्ने गरिब व्यक्तिले अन्तर्राष्ट्रिय स्तरको विज्ञ चिकित्साको सेवासमेत लिन पाएको छ। नेटमार्फत नै एउटा गुरुले आफ्नो हजारौं चेलालाई घर बसीबसी शिक्षा दिन सक्छ। इकमर्समार्फत संसारको कुनै कुनामा उत्पादित वस्तु संसारभर बेच्न सकिन्छ। एउटा यात्रीले आफ्नो यात्राको ब्लग बनाई आयआर्जन गर्न सक्छ। ठूला गोदाममा फाइल भरिराख्नुपर्ने सूचना र कागजपत्रहरू आइक्लाउड वा अन्य त्यस्तै नेट स्टोरेजमा राख्न सकिन्छ। विभिन्न एप्सको माध्यमबाट कैयौं काम क्लिककै भरमा फत्ते गर्न सकिन्छ। पत्रिका, रेडियो, टीभीले हामीलाई सूसूचित गरिरहेकै थिए, अब आएर द्रूत इन्टरनेट र सामाजिक सञ्जालहरूले कामलाई छिटोछरितो, सजिलो, सस्तो र सर्वसूलभ बनाइदिएको छ। औंलाको टुप्पामा आएर संसार नै अडिएजस्तो !

अधिक सञ्चारका चुनौती

गुरिल्ला युद्धमा आक्रमण गरे झैं विभिन्न माध्यमबाट अधिक सूचना तथा सञ्चार प्रवाह गरेको र इच्छा नहुनेले पनि बाध्य भई त्यसलाई व्यहोर्नुपरेको छ। कतिपय मान्छे स्वेच्छाले नै अधिक र अनावश्यक सूचना आफैंमा लाद्ने काम गरिरहेछन्। एउटा मान्छे बिहानका खबर पढ्छ। त्यही खबर टीभीमा, त्यही खबर रेडियोमा, त्यही खबर सामाजिक सञ्जाल, एप्स र अनलाइनमा पनि। त्यतिले नपुगेर इमेल, मेसेन्जर वा मोबाइलमा त्यही समाचार कुनै हितैसीले सात समुद्रपारिबाट फ्याट्ट पठाइदिन्छ। कोही त यति सहयोगी र फुर्सदिला हुन्छन्, ती समय र पैसा खर्च गरीगरी फोन गरेरै भए पनि विभिन्न राष्ट्रिय विषयमा सूचना दिने गर्छन्। अझ ती व्यक्ति–व्यक्ति इन्टरनेटको पहुँचमा छन् भने त सुतिरहेको, काम गरिरहेको, खाना खाँदै वा सवारी साधन हाँकिरहेको बेलामा पनि विभिन्न ‘निःशुल्क’ फोन गर्ने साइटबाट फोन गर्दछन्। आफ्नो फुर्सद र मनोदशाअनुसार अरूलाई अल्मल्याउँछन्।

स्वस्थ मनोरञ्जनका अन्य साधन वा उपाय अवलम्बन गरी ‘साइबर लत’ लाई प्रतिस्थापन गर्नुपर्छ। गाउने, बजाउने, नाच्ने, पुस्तक पढ्ने, चेस खेल्ने, भकुन्डो खेल्ने, साइकल चलाउने, पदयात्रा गर्ने आदि स्वस्थ मनोरञ्जनका तरिका सुरु गर्नुपर्छ।

यी सबै माध्यम विभिन्न नाम, प्रकार र स्तरका छन्। यिनको विश्वसनीयता खुट्याउनु नै एउटा ठूलो चुनौती बनेको छ। विचारमूलक लेखको हकमा त ठिकै छ, फरक विचार हुन सक्छ। यहाँ त तथ्य नै फरक आउने खालका बतासे खबर हुरुरु आउँछन्। फिल्टर गर्ने कसले ? सामाजिक सञ्जालको कुरा गर्ने हो भने यसका आफ्नै चुनौती र समस्या छन्। कुनै विद्यार्थी आफ्नो ट्विटरमा गहन विचारयुक्त वाक्य पस्किन्छ। पढ्नेहरू उसलाई ठूलै विद्वान् सम्झन्छन्। ऊ वास्तविक जीवनमा अज्ञानी पनि हुन सक्छ। तर पढ्ने व्यक्ति भ्रममा परिरहन्छन्। आफ्नो जीवनकालमा एकपटक मात्र वृद्धा श्रम, बालगृह, धर्मस्थल पुगेका व्यक्ति एकपटकको भेटमा कुनै दीनदुःखीलाई आत्मीयता देखाउँछन्, सहयोग वा माया गरेको फोटो खिचेर हाल्छन्। त्यही भरमा व्यक्ति ‘महामानव’ कहलिन्छन्। क्लिक र एक्सप्रेसनको अगाध मायाले व्यक्ति पनि दंगै पर्छ।

तर अधिक सूचना प्रयोगले मानिसको सामाजिक, पारिवारिक, भौतिक, मानसिक, आर्थिक, आध्यात्मिक, शैक्षिक, स्वास्थ्य वा अवस्था कमजोर बनाउँदै लगेको छ। एकलकाँटे हुनु, निद्रा नलाग्नु, सिर्जनशीलता घट्दै जानु, रिसाहा हुनु, नैराश्य बढ्नु, परनिर्भर हुनुजस्ता समस्या बल्झिँदै जान्छ। इन्टरनेट कुलत यो दशकको जल्दोबल्दो समस्याका रूपमा देखा परेको छ। युवाहरूमा यो समस्या बढी छ। छिमेकी देश चीनमा यो समस्या विकराल बनेपछि त्यसबाट युवालाई छुटाउन बग्रेल्ती पुनस्र्थापना केन्द्र खुलेका छन्। यो महँगो सेवामा पर्दछ। यसै वर्षको भदौमा चीनको एक पुस्र्थापना केन्द्रमा ‘पुनर्स्थापना’ का क्रममा एक युवाको मृत्यु भएपछि त्यो घटनाले संसारकै ध्यान तानेको थियो।

नेपालमा पनि खाना खाँदा, सवारी चलाउँदा, कुरा गर्दा, बैठक बस्दा, मन्दिरदेखि मसानघाटसम्म, गाउँदेखि सहरसम्म, गरिबदेखि धनीसम्म, चोरदेखि साधुसम्म, भान्सादेखि सदनसम्म, ओछ्यानदेखि आकाशसम्म, हिमालदेखि तराईसम्म, उठेदेखि सुतेसम्म सबै उमेरका व्यक्ति प्रायः अनलाइन देखिन्छन्। ध्यान नेटमा भएपछि खाइरहेको खानाको स्वादसमेत हुन्न। बाटोमा हिँड्दाहिड्दै बिजुलीको खम्बामा ठोकिएको थाहा हुँदैन। कसैले बोलाउँदा अर्कै असान्दर्भिक शब्द बर्बराइरहेका हुन्छन्। सवारी साधन चलाउनेले बाटोमा, गाडी वा मान्छे बचाउन भ्याउँदैनन्। नेपालको मौजुदा सवारी ऐनअनुसार मोबाइलमा कुरा गर्दै ध्यान नपुर्‍याई बाटो काट्दा सवारी साधनले ठक्कर दिई वा गाडीमा आफैं ठोक्किई मृत्यु भएका गाडीवालाले क्षतिपूर्ति दिनुपर्छ। दोषी मोबाइल चलाउने, निर्दोषबाट पैसा असुलउपर ! शिक्षक, प्रहरी, न्यायाधीश, चालक, नाई, भान्से, चिकित्सकजस्ता मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने र संवेदनशील काम गर्ने व्यक्तिहरू पनि आफ्नो कार्य सम्पादन गर्ने बेलामा काममा भन्दा अनलाइनमा बस्न र अपडेट गर्न व्यस्त छन्, अनि के आउँछ नतिजा ?

अब मान्छेलाई मान्छे नचाहिने भइसक्यो। यस्तो लाग्छ, पेटमा अन्न हाल्ने र बच्चा जन्माउनेबाहेक सबै काम अनलाइन वा भर्चुअल नै सम्भव छ। बाउ, आमा र गुरुले भनेको नपत्याउने तर गुगल र कोराले लेखेको पत्याउने रोग लागेको छ। बिरामी पनि डाक्टरको भन्दा गुगलकै सल्लाह मान्छन्। सूचना ज्ञान लिनु राम्रो हो तर आधिकारिकता निश्चित गरेर मात्र लिनुपर्छ। धेरै सामाजिक सञ्जालमा रहनु पनि अर्को समस्या हो। संसारभरि सयौं त्यस्ता सञ्जाल छन्। कसरी चलाई भ्याउने ? भारत र चीनमा मात्र आआफ्ना तीस–चालीसभन्दा बढी सक्रिय सञ्जाल छन्। संसारभर लाखौं छन्। हरेक सेकेन्डमा केही न केही नयाँ हजारौं सामग्री उपलब्ध भइरहेको हुन्छ। मान्छेलाई अत्यावश्यक काम गरी जीवन गुजारा चलाउनुभन्दा पनि जालोले झैं ढाकेको इन्टरनेट र सामाजिक सञ्जाललाई व्यवस्थित गर्नु ठूलो चुनौती बनेको छ।

उपाय

आफ्नो उमेर, कामको प्रकृति, व्यस्तता, आवश्यकता हेरी आफ्नो मूल लक्ष्यमा नकारात्मक असर नपर्ने गरी सूचना प्रविधि र सञ्चार उपयोग गर्नु उचित हुन्छ। व्यक्ति विकासका लागि एकाग्रता महत्वपूर्ण भएकाले एउटा निश्चित समयमा मात्र वा फुर्सदको समयमा, मनोरञ्जनको समयमा मात्र त्यसको प्रयोग गर्ने। एक दिन वा हप्तामा अधिकतम यति घन्टा मात्र यसमा खर्च गर्छु भनी प्रण गर्ने र त्यसैमा टिक्ने गर्नुपर्दछ। खाना खाँदा, पढ्दा, काम गर्दा, परिवारसँग बस्दा, जमघटमा, सवारी चलाउँदा, सुत्ने बेलामा त्यसबाट टाढै बस्नुपर्दछ। स्वस्थ मनोरञ्जनका अन्य साधन वा उपाय अवलम्बन गरी ‘साइबर लत’ लाई प्रतिस्थापन गर्नुपर्छ।

गाउने, बजाउने, नाच्ने, पुस्तक पढ्ने, चेस खेल्ने, भकुन्डो खेल्ने, साइकल चलाउने, पदयात्रा गर्ने आदि स्वस्थ मनोरञ्जनका तरिका सुरु गर्नुपर्छ। घरको हकमा घरमूली र संस्थाका हकमा उच्च अधिकारीले आफूले नै यसो गरी अरूलाई प्रभावमा पारी परिवर्तनतिर लैजानुपर्छ। आफूलाई सुहाउँदो र मन पर्ने एउटा सामाजिक सञ्जालमा रहनु राम्रो हुन्छ न कि हरेक सञ्जालमा। धेरै खाए सखर पनि तीतो हुन्छ भन्ने उखान ख्याल गर्नुपर्छ। मान्छे सूचना सञ्चारको दास होइन, बरु सूचना हाम्रो दास हो। सञ्चार हाम्रो सोचमा निखार ल्याउन सहायक बनोस्। त्यसले जीवनयापनमा सहजता ल्याओस्। त्यसले नाता नतोडोस्, बरु जोडोस्।

अन्नपूर्ण पाेष्टबाट साभार

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments