Sunday, August 1, 2021
घरअन्तर्वार्ताचुनावयताका सरकारका एकलौटी निर्णय मान्दैनौं: नेपाल

चुनावयताका सरकारका एकलौटी निर्णय मान्दैनौं: नेपाल

निर्वाचन सकिएको एक महिना बित्यो, अझै समानुपातिक परिणाम घोषणा नहुँदा सरकार निर्माणलगायत सम्पूर्ण प्रक्रिया अवरुद्ध हुन पुगेको छ, यस्तो अवस्था आउनुको जिम्मेवार को हो ?
संविधानमा स्पष्ट नभएका कारण पनि यस्तो अवस्था आएको हो । संविधानमा केही कमजोरी पनि रहेछन् तर त्यसमा टेकेर शेरबहादुर देउवाजी र नेपाली कांग्रेसका नेताहरू कुर्सीबाट सकभर हट्न नचाहेको देखियो । कुर्सी छाड्नुपर्ने अवस्था आउँदा कांग्रेसले जहिल्यै यस्तै समस्या सिर्जना गर्दै आएको छ । कुर्सीमा टाँसिरहन खोजेको देखिन्छ । नत्र बाधा अड्काउ फुकाएर भए पनि अघि बढ्न सकिने अवस्था थियो तर त्यस्तो काम गर्नेभन्दा पनि कसरी सत्ता दुरुपयोग गर्ने भन्नेमा शेरबहादुरजीलाग्नुभएको छ । यसबाट उत्पन हुने भोलिको जोखिम उहाँहरूले बुझ्नुभएको छैन ।
निर्वाचन परिणाम घोषणा गर्ने काम त सरकारको नभएर निर्वाचन आयोगको होइन र ?
निर्वाचन आयोग पनि कसरी ढिला गर्न सकिन्छ भन्नेतिर गएको देखिन्छ । जस्तो– राष्ट्रिय सभा चुनाव निम्ति दल दर्ता गर्न दुई साताको समय किन चाहियो ? यसको के जवाफ छ आयोगसँग ? के काम गर्न त्यति समय लाग्ने हो ? स्थानीय तह र प्रदेशसभा हुँदै र प्रतिनिधिसभासम्मको चुनावकै निम्ति दर्ता भएका दलले यसमा भाग लिने होइन र ? एघार पार्टी मात्र राष्ट्रिय सभामा दाबी गर्न सक्ने अवस्थामा छन् भन्ने स्पष्ट भइसकेको छ । एउटा निर्वाचनमा दर्ता भएपछि त्यसपछाडिका सबैमा त्यही लागू हुन्छ । दुई साताको समय लिएर आयोगले आलटाल गर्नकै निम्ति सहयोग गरेको छ ।
निर्वाचन आयोगलाई यस्तो काम गर्न कसैले उक्साएको हो भन्ने तपार्इंहरूको आशंका हो ?
कसले होला ? तपाईंहरू खोजिदिनुहोस् । तपाईंहरू खोज पत्रकारिता गर्नुहुन्छ । यो पनि खोजेर ल्याइदिनुहोस् । हामीले भनिहाल्न मिल्दैन ।
  • राष्ट्रिय सभा चुनावका निम्ति दल दर्ता गर्न दुई साताको समय किन चाहियो ? यसको के जवाफ छ आयोगसँग ?
  • मेरो भूमिका, आवश्यक योग्यता, क्षमता, अनुभवले काम गर्छ भने अवश्य पनि कहीं मेरो खोजी हुन्छ । मैले किन चिन्ता गर्नु ?
  • सरकारको नेतृत्व आलोपालो गर्नैपर्ने भयो भने पनि नीतिमा परिवर्तन हुनु भएन । एउटै नीतिलाई निरन्तरता दिए समस्या हुँदैन ।
  • माओवादीका मन्त्रीहरूले कि त त्यहाँ यो काम गर्न मिल्दैन भनी प्रधानमन्त्रीसमक्ष टेबुल ठोक्नुपर्‍यो, होइन भने किन बसिरहने ?
  • पुष्पकमल दाहाल अल्पदृष्टि भएको व्यक्ति हुनुहुन्न । कांग्रेसको अफर ललिपप हो भनेर बुझ्न सक्नहुन्छ ।
आयोगले त संविधान र कानुनसम्मत प्रक्रियाकै कारण ढिलाइ भएको भनिरहेको मात्र छैन कि चेतावनीमै असंवैधानिक काम नगर्नुहोस् समेत भनिरहेको छ ?
राष्ट्रिय सभामा दल दर्ता गर्न किन त्यति समय चाहियो ? त्यसको त जवाफ चाहियो । प्रत्येक काममा ढिलाइ गर्ने प्रवृत्ति देखिएको छ । आयोगले यस्तो काम गरेर हामीलाई किन बोल्ने मौका दिएको त ? यस्तो काम गरेपछि हामीलाई बोल्ने पनि अधिकार नहुने ? एउटा भनाइ छ नि, कसैलाई गाउँ जलाउने पनि अधिकार छ, अनि अरू कसैले चाहिं किन जलाएको भन्न पनि नपाउने ? यसको अर्थ कहीं न कहीं केही ‘षड्यन्त्र’ भइरहेको छ । कांग्रेसका नेता शेखर कोइरालाले खुलेआम वाम गठबन्धन तोड्छांै भनिरहनुभएको देखिएकै त छ । कतिका लेखमा आइरहेका छन् । खुलेआम यसरी भन्नेहरूले भित्रभित्रै केके गरिरहेका होलान् ?
कसैले गठबन्धन तोड्दिन्छौं भनिदिँदा तर्सिनु भनेको तपाईंहरूको गठबन्धन त्यति कसिलो छैन, हो ?
कसैले केही कमजोरी खोजिरहेका होलान्, त्यसैले तोड्छौं भनेका होलान् । साम, दाम, दण्ड, भेद प्रयोग गर्ने कोसिस भइरहेको होला तर पनि गठबन्धन कसिलो छ ।
तपाईंहरूलाई निर्वाचन आयोग कसको इसारामा चलिरहेको छ भन्ने शंका लागेको हो ?
कोबाट चलिरहेको छ भन्ने थाहा छैन तर त्यहाँबाट बेठीक काम भइरहेको छ ।
राष्ट्रिय सभा गठन नहँुदासम्म मत परिणाम घोषणा नहुने प्रावधान त संविधानमै छ अनि किन तपाईंहरू आयोगलाई दोष लगाउनुहुन्छ ?
संविधानमा भएका प्रावधानको व्याख्या त्यस्तो भएको पनि हुन सक्छ । संविधानमा केही कमजोरी होलान् तर ती कमजोरी हटाउने उपाय पनि छन् । बाधा अड्काउ फुकाउबाट पनि स्पष्ट गर्न सकिन्थ्यो । प्रतिनिधिसभा निर्वाचन परिणामका आधारमा जाने बाटो खोल्न सकिन्थ्यो तर शेरबहादुर देउवाजी यो चाहनुहुन्न । कांग्रेसको ‘माइन्डसेट’ चुनावमा हारे पनि सधंैभरि सत्तामा बस्न चाहने देखिन्छ । आयोगलाई पनि परिणाम घोषणा गर्न हिसाबकिताब गर्न कुनै समय लाग्दैन र समस्या छैन । जिल्ला–जिल्लामा परिणाम आइसकेका छन्, त्यो जोड्दा भइहाल्छ । ढिला किन गर्ने ?
तपार्इंहरूले राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा गरेको विवादले पनि केही समय ढिलाइ हुन पुगेको होइन र ?
राष्ट्रिय सभा अध्यादेशले केही ढिलो भयो होला तर अबकिन ढिला ?
गठबन्धनभित्रकै दलबाट परिणाम रोक्न वा ढिलाइ भएको हो कि भन्ने बाहिर आशंका पनि छ नि ?
परिणाम घोषणा रोक्न त्यस्तो काम गर्ने सवाल नै आउँदैन । कुन मितिसम्म कति काम गर्न सकिन्छ भन्ने हिसाब–किताब हामी पनि गर्न सक्छौं । राज्य सञ्चालनमा हाम्रो पनि अनुभव छ ।
तपाईंहरूको तत्कालको माग भनेको बाधा–अड्काउ फुकाएर गतिरोध अन्त्य गर्नुपर्छ भन्ने हो ?
हो । बाधा अड्काउ फुकाएर जान सकिन्छ तर सरकारबाट नहट्ने यो कस्तो अनैतिक शैली ? म भएको भए हटिसक्थँे । निर्वाचित सरकार छिटो आए राम्रो हुन्छ । त्यसो नहुँदा देशलाई घाटा भइरहेको छ तर नक्कली तर्क गरेर कसरी लम्ब्याउने भन्ने चाल मात्र देखिएको छ । यसको मूल्य कांग्रेसले तिर्नुपर्नेछ । यसको मूल्य भोलिका दिनमा अझै चर्को पर्नेछ । निर्वाचनमा जनताले यति धेरै दण्ड दिँदा पनि उसले चेतेको छैन भने भोलिका दिनमा झन् ठूलो दण्ड भोग्नुपर्छ । यो पुस्ताका नेताहरूले बुझेनन् भने नयाँ पुस्ताका कांग्रेस नेताले बुझनुपर्‍यो, किनभने यसले कांग्रेसको भविष्य झन् अन्धकार बनाउँदै लगेको छ ।
संविधानत: कतिपय काम त यही सरकाले गर्नुपर्ने देखिन्छ, प्रदेश प्रमुखका नियुक्ति, प्रदेशको अस्थायी राजधानी तोक्नुपर्नेलगायत काममा तपार्इंहरूले सहयोग नगर्दा पनि ढिलाइ भएको होइन र ?
यसका निम्ति छलफल गरी दुवै पक्ष मिलेर जानेखालकोमाहोल बनाउनुपर्थ्यो । पारदर्शी ढंगले छलफल गरेर जाऔंं भन्न सकिन्थ्यो तर शंका–आशंका उत्पन्न हुने ढंगले किन काम गरिरहेको ? संविधानमा यस्तो छ, के गरौं भनी ठूलो दल एमालेसँग छलफल गर्ने हो तर यहाँ अन्य सबै दललाई बोलाएर औपचारिकता पूरा गर्ने ढंगले मात्र अघि बढ्न खोजेर हुन्छ ? पहिले त जहाँ समस्या छ, त्यहाँ पो केन्द्रित हुनुपथ्र्याे । हामीसँग कुरै नगर्ने, वास्तै नगर्ने ?
प्रदेश प्रमुख नियुक्ति र अस्थायी केन्द्र तोक्नेबारे यो सरकारले गर्ने निर्णय तपार्इंहरूलाई मान्य हुन्छ कि हुँदैन ?
एकलौटी गर्छ भने कसरी मान्य हुन्छ ? चुनावभन्दा यता सरकाबाट भएका कुनै पनि एकलौटी निर्णय हामी मान्दैनौं।
प्रदेश प्रमुखको नियुक्ति पनि नमान्ने ?
कुनै पनि मानिँदैन ।
यसको अर्थ तपाईंहरू शपथ लिए पनि पछि ती प्रदेशप्रमुख बदल्नुहुन्छ ?
जो जबरजस्ती ल्याइएका हुन्छन्, ती हट्छन् । एकलौटी रूपमा कसैले ल्याइदिएको व्यक्ति किन मान्ने ? हामी बसेर छलफल गरी साझा मान्छे ल्याए मात्रै मान्न सकिन्छ । राजनीतिभन्दा पनि योग्यता क्षमताका आधारमा ल्याउनुपर्छ । मैले सुशील कोइराला भएकै बेला भनेको थिएँ, यो संक्रमणकालमा सिस्टम बसाल्ने काम गरौं । त्यसपछिका अन्य प्रधानमन्त्रीलाई पनि भनेको थिएँ– योग्यता क्षमताका आधारमा काम गरौं, पारदर्शिता अपनाऔं र संस्थागत पद्धति विकास गरौं ।
अब सरकारले छाडिहाल्यो भने पनि नयाँ सरकार बनाउन तपाईंहरूको पनि तयारी देखिँदैन, यसले फेरि नयाँ सरकार विस्तारलाई पनि असर गर्दैन र ?
त्यसमा लम्बिँदैन । एकछिनमै टुंगिन्छ ।
अब एमाले र माओवादी केन्द्रबीच पार्टी भागबन्डा कसरीअघि बढ्छ ?
त्यसमा बसेर छलफल गरी टुंगो लगाउने हो । हामी व्यस्त छौं, त्यसकारण त्यसमा धरै छलफल भएको छैन । राष्ट्रिय सभालगायतका काम ढिला हुने भएकाले हामीले यो विषयमा हतारो नगरेका हौं ।
तपाईंहरू प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै व्यक्ति हुने कि फरक–फरक भन्ने विवादमा अल्झिनुभएको छ नि ?
यो एकछिनमै टुंगिन्छ । यस्ता कतिपय विषय त दुई नेताले मिलाइसक्नुभएको होला, तपाईं हामीलाई थाहा नभएको होला ।
त्यसो भए, त्यो काममा तपार्इं संलग्न हुनुहुन्न ?
मलाई केही छैन, उहाँहरूले राम्रो काम गर्दै हुनुहुन्छ होला । हाम्रो पनि मन चित्त बुझ्ने गरी काम गर्नुहुन्छ होला ।
आन्तरिक रूपमा केही सहमति भइसकेको छ कि छैन ?
मैले के भनेको छु भने सबैको आआफ्नै क्षमता हुन्छ । हामीले समावेशी लोकतन्त्र भनेका छौं । राजनीतिक पद्धतिको नामै ‘समावेशी लोकतन्त्र’ भन्ने छ । त्यसैले नेतृत्व तहका नेताहरूको समावेशिताबिना एक्लाएक्लै निर्णय गर्ने कुरा त भएन । त्यसैले अँध्यारो कोठामा बसेर गर्ने सबै खालका षड्यन्त्रका परिपाटी बन्द हुनुपर्छ । विधिसम्मत काम गर्नुपर्छ । छलफलमा जोड दिनुपर्छ । तथ्य र राम्रामा जोड दिऔं भन्ने हो । कुनै पनि मान्छे योग्य छ भन्ने लागेको छ भने त्यसलाई वैज्ञानिक मूल्यांकन गरौं ।
वाम गठबन्धनले पार्टी एकताका लागि काम गर्न एकतासंयोजन समिति बनाएको थियो तर त्यसको समेत बैठक बस्ने सकेको छैन । किन ?
भ्याइएको छैन । अब बस्छ । म आफैं त फुर्सदमा छैन ।
यतिखेरको तपार्इंहरूको मुख्य काम यही हो अनि यसमा फुर्सद छैन भन्न मिल्छ र ?
समय धेरै बाँकी भएकाले पनि हतार नभएको हो । अब सरकार पनि ढिलो हुने भयो । पहिले पार्टी एकता टुंग्याउने गरी हामी लाग्छौं ।
अब दुई दलको एकताको विधि के हुन्छ ?
विधिबारे धेरै छलफल भएको छैन । यसबारे उपाय निकाल्न सकिन्छ । दुवैलाई मान्य हुने विधिमा जानुपर्छ । योग्यताको मूल्यांकन र पारदर्शिता अपनाइयो भने विधि आफैं बनिहाल्छ ।
दुवैतिर कतिपयका नेताका व्यक्तिगत महत्त्वाकांक्षा होलान्, त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
व्यक्तिलाई हेरेर यो काम पार लाग्दैन । योग्यता र क्षमतासबै हुेर्नपर्छ ।
तपाईंहरूबीच संयुक्त रूपमा प्रधानमन्त्री र पार्टी कसरी चलाउने कुनै सहमति छ ?
यस्तो सहमति भएको छ भन्ने मलाई थाहा छैन तर यदि छ भने त्यो सहमति पालना हुनुपर्छ । कहाँकहाँ के सहमति भएको हो ? त्यो कमिटीमा आउनुपर्छ ।
त्यसो भए तपाईंहरूबीचकै छलफल पारदर्शी छैन ?
होइन, छलफल एक्लाएक्लै भइरहेको छ । मेरो पनि कुरा भइरहेको छ । दुई अध्यक्षबीचमा पनि कुरा भइरहेका होलान् तर कमिटीको बैठक बसेको छैन । त्यसैले ठोस अवधारणाआएको छैन ।
फरक–फरक धारका पार्टी भएकाले नेतृत्व बाँडफाँट गर्दा झन् समस्या आउने नै भयो, त्यसमा अझ प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै व्यक्तिको नेतृत्व हुनुपर्छ भन्ने छ । तपाईंको मान्यता के हो ?
पारदर्शी ढंगले चल्ने, संस्थागत निर्णय गर्ने परिपार्टी बसाल्ने, व्यक्तिको योग्यता, क्षमता मूल्यांकन गर्ने र नेताहरूबीच बसेर छलफल गरी समझदारी निर्माण गर्ने गरी चार विधि अपनाइयो भने नेतृत्वमा जो भए पनि समस्या हुँदैन।
संगठन चाहिं कस्तो बनाउनुहुन्छ ?
माओवादीको संगठन ठूलो छ, उहाँहरू पनि ठूलो भयो भन्नेमै हुनुहुन्छ । हामी पनि सानो बनाउने पक्षमा छौं । छरितो र कामकाजी हुनुपर्छ । धेरै मानिसलाई संगठित गर्नेखालका संरचना बनाउनुपर्छ । कुन व्यक्ति कुन तहको हो भनेर बुझ्नेखालको कमिटी बनाउनुपर्छ । पार्टीभित्र विभागहरू बनाउनुपर्छ र पेसा–व्यवसायीलाई संगठित गर्नुपर्छ ।
तपाईं त पार्टीको नेतृत्व गरिसकेको, प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ, यो एकीकरण प्रक्रियामा तपाईंको आफ्नो व्यवस्थापन चाहिं कसरी होस् भन्ने चाहनुहुन्छ ?
मेरो ‘स्पेस’ को चिन्ता छैन । मलाई त यो देश के हुन्छ भन्नेमा चिन्ता छ । देशको प्रगति र स्थायित्व हुँदा मात्र देशको‘स्पेस’ विश्वमा रहन्छ । त्यसमा कसरी अघि बढ्ने भन्नेमा मेरो चिन्ता छ ।
त्यस्तो राम्रो काम अघि बढाउन त तपाईंजस्तो नेतालाई केही पद चाहिएला नि ?
ममा क्षमता छ/छैन भन्नेमा मैले गीत गाएर हुँदैन । मेरो भूमिका, आवश्यक योग्यता, क्षमता, अनुभवले काम गर्छ भने अवश्य पनि कहीं मेरो खोजी हुन्छ । मैले किन चिन्ता गर्नु ?
तपाईंलाई यो पदमा यसरी ‘फिट’ गरिदिएहुन्थ्यो भन्ने कुनैअपेक्षा छैन ?
मेरो केही अपेक्षा छैन । म महत्त्वाकांक्षा राख्ने मान्छे होइन ।
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै पदमा तपाईंलाई नेतृत्व गर्ने अफर आयो भने के गर्नुहुन्छ ?
म ‘हाइपोथेटिकल’ विषयको पछि जान्नँ । मैले केही भनिदिएँ भने बेकारमा अरू कसैका मनमा शंका–आशंका उब्जिन सक्छ । यतिखेर शंका–आशंका बढाउने बेला होइन । यो त समझदारी बढाउने र समस्या समाधान गर्नेे बेला हो । सरकार बनाउने, पार्टी एकता गर्ने हो । छिटो सरकार बनाएर जनतालाई ‘डेलिभरी’ दिने बेला हो । यहाँ मान्छेहरूले छिटो–छिटो काम भएको देख्न चाहेका छन् ।
चुनावअघि तपाईंहरूले स्थिर सरकारको नारा बाँड्नुभयो र त्यहीअनुरूपको परिणाम हासिल भयो, अबको सरकार स्थिर हुन्छ कि हुन्न ?
स्थिर हुन्छ ।
तर सरकार त आलोपालो चलाउने भन्ने आइरहेको छ,यसले मतदाताको अपेक्षा र विश्वासमाथि धोका दिन खोजेको देखिँदैन र ?
आलोपालो गर्नैपर्ने भयो भने पनि नीतिमा परिवर्तन हुनु भएन । नयाँले आएर पुरानो नीतिलाई हटाइदिने भएकालेयहाँ समस्या भएको हो । एउटै नीतिलाई निरन्तरता दिएसमस्या हुँदैन ।
नीतिकै निरन्तरता हुने भएपछि व्यक्ति किन परिवर्तन हुनुआवश्यक पर्‍यो ?
व्यक्ति परिवर्तन नहुन पनि सक्छ । एउटै व्यक्ति बसिरहनुपर्छ भन्ने पनि छैन । एकै व्यक्ति पार्टीमा लगातार बस्नु पनि ठीक हुँदैन । यस्ता विषयलाई सामान्यीकरण गर्नुपर्छ ।
एमाले र माओवादी पार्टीबीच वैचारिक समस्या छ, कसरी मिलाउनुहुन्छ र कुन लाइन लिएर जानुहुन्छ ?
वैचारिक विषयमा बहस चलाउनुपर्छ । त्यसका लागि दुई कार्यदल बनाउनुपर्छ भन्ने छ । एउटामा सिद्धान्त–विचार छलफल चलाउने र अर्कोमा संगठनात्मक व्यवस्थापन गर्ने । यहाँभित्र एक्काइसौं शताब्दीको जनवाद, जनताको बहुदलीय जनवाद, माओवादी केके छन्, ती सबै सिद्धान्त र विचारमाथि छलफल गर्न सकिन्छ । यस्तो छलफलमा जे सहमति हुन्छ, त्यसरी नै अघि बढ्छ । विमतिका विषयमा थप छलफल हुन्छ र त्यसमा थप एकता खोज्न सकिन्छ । यस्तो काम र विषयले एकता प्रक्रिया रोकिनु हुँदैन । अब ढिलाइ गर्नु हुँदैन ।
एमाले–माओवादीबीच एकता नहुँदै सरकारका लागि अर्को गठबन्धन बन्ने सम्भावना छ कि छैन ?
यस्तो सम्भावना छैन । यदि भयो भने त्यो दुर्भाग्य हुन्छ । यसलाई फुटाउनेमा जो लाग्छ, त्यो फस्छ । उसले पार्टी र आन्दोलनलाई पनि फसाउँछ । त्यसैले कोही पनि यसतर्फ लाग्नु हुन्न भन्ने मेरो विश्वास छ ।
नेपालको राजनीतिक घटनाक्रममा विदेशीको चासो पनि जोडिने गरेको छ, वाम गठबन्धन बनाउने या टुटाउनेमा ‘विदेशी धन्दा’ परेको या पर्न सक्ने सम्भावना छ कि छैन ?
मैले जहिले पनि नेताहरूलाई ‘बाह्य’ देखाउने गल्ती नगरौं भन्ने गरेको छु । अयोग्य आफू हुने अनि बाहिरीलाई देखाउने ? बाहिरकाको मुख सुँघ्ने काम पनि नगरौं । हामीले यस्तो काम गरेका छैनौं । म पार्टीको प्रमुख, प्रधानमन्त्री हुँदा कहिल्यै विदेशीलाई सोधेर गरिनँ र गर्नु पनि हुँदैन ।
देउवाले प्रधानमन्त्री पद नछाडेको भनेर तपाईंले चर्काे आलोचना गर्नुभयो तर वाम गठबन्धनमै आबद्ध माओवादीका मन्त्री त सरकारमा बसिरहेका छन् नि ?
चुनावका बेला अनुचित काम नहोस् भनेर राखिएको होला । त्यो त्यतिबेला ठीकै पनि थियो तर अब माओवादीका मन्त्रीहरू सरकारमा रहनु हुँदैन । कि त त्यहाँ यो काम गर्न मिल्दैन भनी प्रधानमन्त्रीसमक्ष टेबुल ठोक्नुपर्‍यो, होइन भने किन बसिरहने ?
कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ५ वर्ष सरकार चलाउने अफर गरेको छ, यसलाई के भन्नुहुन्छ ?
उहाँ (दाहाल) त्यति अल्पदृष्टि भएको व्यक्ति हुनुहुन्न । ललिपप हो भनेर बुझ्न सक्नुहुन्छ । त्यो अफर मान्नुभयो भने त्यसले उहाँको इज्जत, प्रतिष्ठा बढाउँदैन ।
चुनावमा छ वटा प्रदेशमा तपाईंहरूको राम्रो परिणाम आए पनि २ नंको परिणाम नराम्रो हुनुको कारण के हो ?
उम्मेदवार चयन गर्ने र पार्टी कमिटीले सहयोग गर्नेमा कमी रह्यो । एमालेलाई मधेसविरोधी भनियो, त्यस खालका भ्रम चिर्न सकिएन । हाम्रा नीतिमा कमजोरी थिएन तर प्रस्ट पार्ने सवालमा पनि कमजोरी रह्यो होला ।
मधेसकेन्द्रित दलहरूसँगको सम्बन्ध कस्तो हुन्छ ?
उहाँहरू पनि मतदाताको विश्वास जितेर आउनुभएको छ । समस्या छन् भने समाधान गर्दै हामी अघि बढ्न चाहन्छौं ।
उनीहरूले संविधान संशोधनको माग उठाएका छन्, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
यसमा बसेर छलफल गर्न सकिन्छ । राष्ट्रको हित र एकता, सामाजिक सद्भाव अभिवृद्धिका पक्षमा हुने विषय छ भने छलफल गर्न सकिन्छ । हामी तयार पनि छौं ।
केन्द्रीय सरकारमा मधेसकेन्द्रित दलहरू सहभागी गराउने सम्बन्धमा तपाईंहरूको धारणा के छ ?
त्यस विषयमा छलफल गर्नुपर्‍यो । छलफलबाट सहकार्य गर्न सकिन्छ कि सकिँदैन भन्ने तय हुन्छ । हामीले सहकार्यको ढोका खुला राखेका छौं । यसबीचमा हामीले विभिन्न तहमा वार्ता गरिरहेका छौं ।
कांग्रेससँगको सम्बन्ध र सहकार्य कस्तो हुन्छ ?
राष्ट्रनिर्माणका काममा उहाँहरूले अवरोध, बाधा खडा गर्नु हुँदैन, सहयोगी भूमिका खेलिदिनुपर्छ।
RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments