Tuesday, September 21, 2021
घरफिचरब्रिटिस काउन्सिलको IELTS परीक्षामा सेटिङ, विद्यार्थीसहित १३ जना पक्राउ

ब्रिटिस काउन्सिलको IELTS परीक्षामा सेटिङ, विद्यार्थीसहित १३ जना पक्राउ

काठमाडौं– काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र ‘लिक’ गरेर चलखेल हुने गरेको खुलेको छ। प्रहरीले शुक्रबार यस्तो कार्यमा संलग्न १३ जनालाई पक्राउ गरेको छ।

ब्रिटिस काउन्सिलकै कर्मचारीको मिलेमतोमा अघिल्लो दिन नै प्रश्नपत्र विद्यार्थीलाई बिक्री हुने गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार राति यसमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो।

आइइएलटिएस परीक्षा पास गर्न चाहने विद्यार्थीसँग पैसा लिएर उनीहरुलाई पास गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पक्राउ पर्नेमा विद्यार्थी समेत रहेको काठमाडौं परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले बताए। विस्तृत अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिहरुको विवरण आइतबार मात्र सार्वजनिक गर्ने उनको भनाइ छ।

स्रोतका अनुसार, प्रहरीले लिक गरिएको प्रश्न र त्यसवापत लेनदेन भएको पैसा समेत बरामद गरेको छ। शनिबारका लागि तय भएको आइइएलटिएस परीक्षाको प्रश्नपत्र शुक्रबार नै गेस्टहाउसबाट प्रहरीले बरामद गरेको थियो।

प्रश्नपत्र २ लाखमा बिक्री, अन्तर्राष्ट्रिय गिरोहको संलग्नता

आइइएलटिएसको परीक्षामा प्रश्नपत्र लिक गराएर परीक्षा उत्तीर्ण गराउने धन्दामा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

पक्राउ परेका काउन्सिलका एजेन्ट सुरज तामाङको अन्तर्राष्ट्रिय समूहसँग सम्पर्क देखिएको छ। प्रहरी स्रोतका अनुसार, एक भारतीयमार्फत उनले पहिले नै प्रश्नपत्र पाउँदै आएका थिए। उनले लामो समयदेखि आइइएलटिएस परीक्षा उत्तीर्ण हुन चाहने विद्यार्थीलाई प्रश्नपत्र बिक्री गर्दै आएको प्रहरीले जनाएको छ।

तामाङ पुतलीसडकस्थित एक कन्सलटेन्सीका सञ्चालक हुन्। प्रश्नपत्र लिक गराउनेमा काउन्सिलका नेपालस्थित कर्मचारीभन्दा अन्य देशमा रहेका काउन्सिलका कर्मचारीहरुको संलग्नता देखिएको स्रोत बताउँछ। विश्वभरि नै ब्रिटिस काउन्सिलको परीक्षा प्रणाली एउटै हुने भएकाले अन्य देशका काम गर्ने व्यक्तिको मिलेमतोमा चलखेल हुने गरेको हो।

तामाङले भारतीय विद्यार्थीलाई समेत नेपाल ल्याएर प्रश्नपत्र पहिले नै बिक्री गरी आइइएलटिएसको परीक्षा दिन लगाउँदै आएको समेत अनुसन्धानमा खुलेको छ। आइइएलटिएसको प्रश्नपत्र बिक्रीमा दुई लाख रुपैयाँसम्म लेनदेन हुने गरेको खुलेको छ।

पक्राउ परेका एक एजेन्टले ८ जना विद्यार्थीसँग पैसा उठाएर मुख्य एजेन्टलाई दिँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। एकै जना विद्यार्थीसँग दुई लाख रुपैयाँसम्म लिइएको थियो। प्रहरीले पैसा बुझाएर प्रश्न किन्ने विद्यार्थीलाई समेत पक्राउ गरेको छ। ८ जना विद्यार्थीसँग लिइएको ४ लाख १५ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ।

प्रश्नपत्र भाइबरमार्फत दिने गरिएको प्रहरीले जनाएको छ। शनिबारका लागि तय भएको आइइएलटिएस परीक्षाको प्रश्नपत्र प्रहरीले शुक्रबार नै बरामद गरेको थियो। अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार शुक्रबार भेटिएका प्रश्नपत्र र शनिबार परीक्षामा सोधिएका प्रश्नहरु एउटै छन्।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसरले शुक्रबार राति अपरेसन चलाई प्रश्न बिक्री गर्ने र खरिद गर्नेहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामाथि विस्तृत अनुसन्धान पूरा भइनसकेकाले नामहरु सार्वजनिक नगरिएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments