कांग्रेसको समिक्षा: ६ महिनामा सरकारका ७ कमजोरी

August 20, 2018

बर्तमान सरकार गठन भएको ६ महिना पुगेको छ । अघिल्लो बर्षको फागुन ३ गते प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले यसबीचमा जनअपेक्षा अनुसार काम गर्न  नसकेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको दावी छ । काम गर्ने बेलामा सरकारले आश्वासन मात्र बाँडिरहेको आरोप कांग्रेसको छ । सरकारका ६ महिनाको समिक्षा गर्दै कांग्रेसले ७ वटा कमजोरी औंल्याएको छ ।

राष्ट्रियता : राष्ट्रवादमा चुक्यो
ओली सरकारको राष्ट्रियता उग्रराष्ट्रवादको कारुणिक विसर्जन भएको कांग्रेसले आरोप लगाएको छ । ‘निर्वाचनको मैदानमा मत माग्दै गर्दा उग्रराष्ट्रवादको लहरले ठूलो प्रभाव पारेको थियो । तर, सरकार गठनको केही महिना नपुग्दै त्यसको सम्पूर्ण रङ बदलिन पुग्यो,’ सरकार चुकेको पहिलो टिप्पणीमा कांग्रेसले भनेको छ, ‘खासगरी सरकारको नेतृत्व राष्ट्रवादको मुद्दामा नराम्रोसँग चुकेको तथ्य जगजाहेर छ ।’

लोकतन्त्र : हस्तक्षेप नै हस्तक्षेप
लोकतान्त्रिक प्रक्रियामा आउनु, निर्वाचित हुनु र लोकतान्त्रिक संस्कृति अनुरूपको हुनु फरक भन्दै कांग्रेसले सरकार अलोकतान्त्रिक रहेको निष्कर्ष निकालेको छ । ‘प्रतिपक्षका प्रति द्वेषयुक्त अभिव्यक्ति, निषेधाज्ञा, मिडियामा बढ्दो हस्तक्षेप र नागरिक स्वतन्त्रतामाथि अतिक्रमणमार्फत प्रस्तुत प्रवृत्ति लोकतान्त्रिक संस्कृतिअनुरूप किमार्थ होइन,’ कांग्रेसले भनेको छ ।

संघीयता : असफल बनाउन खोजियो
संघीयता कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा संघीय सरकार लागेको आरोप कांग्रेसको छ । दुईवटा प्रदेशले मात्र आफ्नो नाम राख्न सकेको, प्रदेशलाई बजेट नदिएको, अधिकार प्रत्यायोजनमा संघले अलमल गरेको आरोप कांग्रेसको छ ।

सुशासन : कुशासनतर्फ सरकार
‘विश्वविद्यालयका उपकुलपतिमाथि अपमानजनक व्यवहार, सुन प्रकरणमा भनिएका ठूला माछाको उन्मुक्ति, अनि भ्रष्टाचारको सत्तासंरक्षित विकेन्द्रीकरणले कम्युनिस्ट सरकारको सुशासनको चित्र प्रस्ट्याएको छ,’ कांग्रेसले भनेको छ ।

मूल्यवृद्धि : उदासीन सिंहदरबार
हिजो सर्वहाराको नारा दिने पार्टीले आज सर्वहारालाई चर्को मूल्य उपहार दिएको आरोप कांग्रेसले लगाएको छ । मूल्यवृद्धिबारे प्रधानमन्त्रीबाट गैरजिम्मेवार जवाफ आएको, स्थानीय तहमा कर आतंक हुँदै गर्दा सिंहदरबारको भूमिका उदासीन भएको आरोप कांग्रेसको छ ।

समृद्धि यात्रा : पुरानै सपना
समृद्ध देश बनाउने सरकारको घोषणालाई सपनाको हवाई उडान भनेको कांग्रेसले नीति तथा कार्यक्रममा इच्छाशक्ति नदेखिएको टिप्पणी गरेको छ । बजेटमार्फत त्यस्तो क्रमभंगको कुनै भिन्न कार्यक्रम सरकारले दिन नसके पनि ६ महिने उपलब्धिमा पुरानै प्रगतिका विवरण पनि समेटिएको आरोेप कांग्रेसको छ ।

न्यायालय : प्रधानमन्त्रीको दोहोरो चरित्रको सिकार
प्रधानमन्त्रीको दोहोरो चरित्रको सिकारमा न्यायालय परेको आरोप कांग्रेसको छ । प्रधानमन्त्री नै अध्यक्ष रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई सिफारिस गरे पनि आफ्नै दलका बहुमत सदस्य रहेको संसदीय सुनुवाइ समितिबाट अस्वीकार गर्न लगाई न्यायालयलाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउने षड्यन्त्र प्रधानमन्त्रीबाट भएको आरोप कांग्रेसले लगाएको छ ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...